झापामा वनस्पति प्रशोधन केन्द्र


ज्ञानमाण्डू।झापाको मेचीनगर नगरपालिका–८ स्थित राजकामतमा रु एक करोड ३२ लाखको लागतमा बनस्पति प्रशोधन केन्द्र बन्न सुरु भएको छ । 

महेन्द्रद्वार सहकारी संस्थाले आठ कट्ठा जग्गा खरिद गरेर प्रदेश नं. १ सरकारको रु ७५ लाख अनुदानमा बन्न लागेको सो प्रशोधन केन्द्रको शिलान्यास भइसकेको संस्थाका अध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार जिल्लामै पहिलो पटक संस्थाले तेजपत्ता प्रवर्द्धन तथा औषधिजन्य वनस्पति प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन लागेको हो । संस्थाले रु ५७ लाख लगानी गरेर ट्रस्टको छानोसहित चार मेशिन, दुई टहरा र कार्यालयका लागि दुई वटा कोठा निर्माण गर्न लागेको छ । 

संस्थाका सञ्चालक समिति सदस्य तथा जडीबुटी प्रशोधन केन्द्र उपसमिति संयोजक कुन्दन निरौलाले चालु आर्थिक वर्षभित्रमै प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनका लागि तीव्र कार्य भइरहेको बताए । 

यसै गरी बहुमूल्य नगदे बाली अलैँचीसम्बन्धी सबै खाले जानकारी सहज ढङ्गले उपलब्ध गराउन सक्ने गरी झापाको विर्तामोडमा अलैँची सूचना तथा अनुसन्धान केन्द्रको भवन निर्माण भइरहेको छ । अलैँची व्यवसायीकै आर्थिक सहयोगमा विर्तामोड–७ को हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जग्गामा सो केन्द्र निर्माण भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव सुभास भट्टराईले बताए । 

भवन निर्माणका लागि हालसम्म व्यवसायीबाटै आर्थिक सहयोग लिइएको बताउँदै उनले व्यवस्थित र प्रविधि सम्पन्न सूचना केन्द्र सञ्चालनका लागि कृषि मन्त्रालयले पनि चासो दिएको जानकारी दिए । मन्त्रालयले सो भवनलाई अलैँचीको अनुसन्धान केन्द्रका रूपमा विकास गर्नसमेत सुझाव दिएको र त्यसका लागि सहयोग गर्ने आश्वासन आफूहरुले पाएको महासचिव भट्टराईले बताए । सो भवनको लागत स्टिमेट रु दुई करोड रहेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x