![](https://1.bp.blogspot.com/-xbQmR7E8Ylw/Xw6Omo_qdFI/AAAAAAAAI6U/rEas_tqWmj83ExnoSYzy3pdLFq3Q4IqFgCNcBGAsYHQ/d/Screen%2BShot%2B2020-07-15%2Bat%2B10.50.15.png)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरु गरेका छन् । पछिल्लो चरणमा ४२ उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ ।
उडान तालिकाअनुसार आज नेपाल एयरलाइन्सले दुबईमा दुई उडान गर्नेछ । हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ । उद्धार उडानका लागि नेपाली एयरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ । यो अवधिमा एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक १६ वटासम्म चार्टर्ड उडान हुँदै आएका छन् ।रासस