नेपाल राष्ट्र बैङ्ककी डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाले पछिल्लो समय नेपालको अर्थतन्त्रको अधिकांश सूचकमा सुधार देखिएको बताउनुभएको छ। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको फ्युचर बैङ्किङ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।
उहाँले डिजिटल बैङ्किङ प्रणालीसँगै आर्थिक कारोबार सहज भए पनि वित्तीय अनुशासन र जोखिम व्यवस्थापनमा अझै ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयाे।
‘मौद्रिक नीति आयो, बजेट आयो र दुबैमा बैङ्किङ क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।’ उहाँले भन्नुभयो, ‘अहिले कारोबार गर्न सजिलो भएको छ, तर सजिलोसँगै खर्च पनि बढिरहेको छ।’
“पहिले बैङ्कमा जोखिम देखिँदा मानिसहरूको घण्टौँ लाइन लाग्थ्यो, अहिले भने मोबाइल बैङ्किङले धेरै कुरा सजिलो बनाएको छ,” उ उहाँले भन्नुभयो, “तर डिजिटल बैङ्किङको विस्तारसँगै त्यसको जोखिम व्यवस्थापनमा पनि गम्भीर ध्यान दिनुपर्छ, अहिले यही विषयमा गहिरो अध्ययन भइरहेको छ।”
अहिलेको अवस्था मूल्याङ्कन गर्दा बैङ्कहरूमा निष्क्रिय कर्जाको मात्रा बढिरहेको छ। साथै गैर बैङ्किङ सम्पत्तिको वृद्धि र कालोसूचीमा पर्ने ऋणीहरूको सङ्ख्या समेत बढ्दो क्रममा छ, जसप्रति समयमै ध्यान दिन जरुरी रहेको समेत उहाँले उल्लेख गर्नुभयो।
बैंकर र व्यवसायीको भूमिका छुट्टाउने विषयमा समेत हाल छलफल भइरहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “वित्तीय प्रणालीको विश्वसनीयता कायम राख्न सबैतर्फबाट उत्तरदायी भूमिका आवश्यक छ।”
निष्क्रिय कर्जा, कालोसूचीका ऋणी र गैर बैङ्किङ सम्पत्ति बढ्दै गएको छ: डेपुटी गभर्नर ढुङ्गाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
