नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको सन्दर्भमा संरचनात्मक सुधार, नीति कार्यान्वयनको प्रभावकारिता, र डिजिटल प्रविधिमा आधारित भविष्यमुखी बैङ्किङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको अर्थ विश्लेषक अनलराज भट्टराईले बताउनुभएको छ।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको फ्युचर बैङ्किङ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान आर्थिक अवस्थालाई विरोधाभासपूर्ण बताउनुभयो। “ब्याजदर कम हुँदै गएको छ, तर कर्जाको मागमा सुधार देखिएको छैन, लगानीकर्ताको आत्मविश्वास कमजोर छ, तर ऋणीहरू ऋणको भारले थलिएका छन्,” उहाँले भन्नुभयो।
उहाँका अनुसार नेपालको अर्थतन्त्र सुस्त वृद्धि, औद्योगिक उत्पादकत्वमा कमी, निष्क्रिय कर्जाको वृद्धि, घट्दो उपभोक्ता खर्च र मुद्रा कमजोर हुँदै गएको जस्ता चुनौतीहरूमाझ छटपटिइरहेको छ। यस्तो अवस्थामा नेपालको वित्तीय प्रणालीलाई चुस्त, लचकदार र समसामयिक प्रविधिसँग सुसज्जित बनाउन जरुरी रहेको उहाँको भनाइ थियो।
भट्टराईले नियो बैङ्क (Neo Bank) को अवधारणालाई फ्युचर बैङ्किङको सम्भावित मोडलका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, “परम्परागत भौतिक शाखाको सट्टामा डिजिटल प्लेटफर्ममार्फत सेवा दिने नियो बैङ्कले वित्तीय पहुँच विस्तारमा योगदान दिन सक्छ।” यस्तै, डिजिटल सेवाको विकाससँगै भौतिक शाखा सङ्ख्यामा कमी ल्याउने प्रवृत्ति र बैङ्किङ लाइसेन्स वितरणको मापदण्डमा पुनर्विचार गर्नुपर्ने आवश्यकतामाथि पनि उहाँले जोड दिनुभयो।
उहाँले नेपालको आर्थिक रूपान्तरणका लागि सात वटा आधारभूत प्रश्न उठाउनुभयो – जसमध्ये नेपालको प्रतिस्पर्धात्मक क्षमता, निजी क्षेत्रको वृद्धिको वातावरण, व्यापारिक संस्कृतिको विकास, र विदेशी लगानी भित्र्याउने रणनीति जस्ता विषय प्रमुख थिए। यिनको उत्तरसँगै त्यसलाई व्यवहारमा उतार्न नीतिगत सुसंगतता र राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उहाँको धारणा थियो।
उहाँले अगाडि भन्नुभयो, “नेपालसँग पर्याप्त प्राकृतिक स्रोत र सम्भावना छ, तर लगानीमैत्री वातावरणको अभाव, प्रशासनिक झन्झट, पुराना कानुन र अस्पष्ट नियमनले आर्थिक वृद्धि रोकिएको छ।” यस्तो अवस्था पार गर्न आपत्कालीन आर्थिक योजना, राजस्व र खर्चको सन्तुलन, मौद्रिक नीतिको विवेकपूर्ण प्रयोग र सहकार्यपूर्ण शासन प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा उहाँले विद्युत्, यातायात, सञ्चार, वित्त, स्वास्थ्य र खाद्य सेवा जस्ता क्षेत्रहरूमा देखिएको वृद्धि उत्साहजनक भएको उल्लेख गर्दै कृषि, शिक्षा र घरजग्गा क्षेत्रहरूको तुलनात्मक सुस्तताले समग्र अर्थतन्त्र सन्तुलनमा नरहेको बताउनुभयो।
उहाँले अन्त्यमा भन्नुभयो, “हामी यस्तो पुस्ता बनौँ जसले सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न सक्छ। अब समय हो, निराशामाथि आशा रोज्ने र स्पष्ट सन्देश दिने – ‘नेपाल जिम्मेवार परिवर्तनका लागि तयार छ’।”
फ्युचर बैङ्किङका लागि संरचनात्मक सुधार र डिजिटल प्रविधिमा लगानी अपरिहार्य: अनलराज भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
