नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बिच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेष गरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।
आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासङ्घको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबिचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुई देश बिचको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ छ ।
नेपालबाट हाल फेल्ट, गलैँचा, धागो लगायतका परम्परागत सामान बढी गइरहेको सन्दर्भमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासङ्घको विश्वास छ ।
नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र कोरियाबिच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्ययतामा सोल स्थित नेपाली दूतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठुला बजार सँगको समिप्यता कोरियाली लगानीकर्ताका लागि महत्त्वपूर्ण रहने बताउनुभयो ।
ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासङ्घको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गर्नु भयो । उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमहरूको जानकारी गराउनु भयो । साथै, दुई पक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्त्वपूर्ण कदम भएको बताउनु भयो ।
ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरू पनि प्रकाश पार्नु भयो । विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलो पटक क्रेडिट रेटिङ भएको जानकारी पनि लगानीकर्तालाई दिनुभयो । नेपालको रेटिङ दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उहाँको धारणा थियो ।
ढकालले पूर्वाधार विकासको महत्त्व पनि औँल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, शहरी योजना, होटेल रिसोर्ट, केबलकार र स्मार्ट सिटीहरूमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गर्नु भयो ।
ढकालले कोरियाली व्यावसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न निमन्त्रणा दिँदै महासङ्घको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिनु भयो ।
महासङ्घ र कोरिया इम्पोटर्स एसोसिएसन बिच समझदारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%