नबिल बैङ्क लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैङ्कले यी महत्त्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । सो उपलब्धिले बैङ्कको वित्तीय पारदर्शिता, जबाफदेहिता, सुशासन, र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको छ ।
बैङ्कको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताउनुभयो । ढुङ्गानाले भन्नुभयो ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई यी अवार्डहरू दिलाएको छ, जुन हाम्रा कर्मचारीको अथक मेहनतको फल हो । सबैलाई बधाई दिन चाहन्छु ।’
४० औँ वार्षिकोत्सवको अवधिमा बैङ्कले पाएका अवार्डहरू
१. नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबिपिए), २०२३
नबिल बैङ्कले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैङ्कतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको छ। सो अवार्ड बैङ्कलाई आर्थिक वर्ष २०२२/२३ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो। बैङ्कको वित्तीय पारदर्शिता, जबाफदेहिता र सुशासनलाई सम्मान गर्दै सो अवार्ड प्रदान गरिएको हो। काठमाडौँमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अवार्ड हस्तान्तरण गर्नुभयो। नबिल बैङ्कका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेलले अवार्ड ग्रहण गर्नुभयो।
२. वेस्ट कमर्सियल बैङ्किङ ब्रान्ड अवार्ड नेपाल, २०२४
नबिल बैङ्कले संयुक्त अधिराज्य (युके)को ग्लोबल ब्राण्ड्स म्यागेजिनबाट यस वर्षको वेस्ट कमर्सियल बैङ्किङ ब्रान्ड अवार्ड नेपाल, २०२४ प्राप्त गरेको छ। ग्लोबल ब्राण्ड्स म्यागेजिन ठुलो प्रकाशन गृहमध्येको एक हो । यसले हरेक वर्ष बैङ्किङ क्षेत्रका अग्रणी, उत्कृष्ट सेवा तथा दृष्टिकोण प्रदर्शन गर्ने बैङ्कहरूका लागि अवार्ड आयोजना गर्दै आइरहेको छ । यस सम्मानले बैङ्किङ क्षेत्रमा नबिल बैङ्कको उत्कृष्ट सेवा र दूरदर्शी दृष्टिकोणलाई थप सुदृढ बनाएको छ। अवार्डका लागि बाह्य अनुसन्धान तथा मूल्याङ्कन टोलीले गरेको सिफारिसका आधारमा बैङ्कले सो अवार्ड प्राप्त गरेको हो ।
३. नेपालको वेस्ट बैङ्क फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर), युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४
नबिल बैङ्कले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैङ्क फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर) प्राप्त गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत देशमा पुर्याएको योगदानको कदर स्वरूप सो अवार्ड बैङ्कले हासिल गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई दिगो विकासका लक्ष्य केन्द्रित गर्दै समाजको सकारात्मक परिवर्तनका लागि बैङ्कले स्वास्थ्य, शिक्षा, उद्यमशीलता, संस्कृति जर्गेना तथा प्रवर्द्धन, सूचना प्रविधि आदि कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा टेवा पुर्याउँदै आएको छ । बैङ्कले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसइ) कार्यक्रम २०७८ मङ्सिर देखि सुरु गर्दै सामाजिक उद्यमशीलतालाई देशव्यापीरुपमा सञ्चालन गर्दै आएको छ ।
४. नेपालको वेस्ट बैङ्क फर एसएमइज, युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४
नबिल बैङ्कले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैङ्क फर एसएमइजतर्फको अवार्ड पनि हासिल गर्न सफल भएको छ । सन् १९९२ मा स्थापना गरिएको सो अवार्ड विश्व बैङ्किङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैङ्कको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । सो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ।
‘बैङ्कले नवीनतम कामका लागि देखाएको प्रतिबद्धता, सामाजिक उत्तरदायित्व अन्तर्गत पुर्याएको योगदान, गुणस्तरीय ब्राण्डिङ्ग र साना तथा मझौला व्यवसाय विस्तारमा गरेको उत्कृष्ट प्रदर्शनले यी अन्तर्राष्ट्रिय अवार्डहरू पाएकोमा हामीलाई थप ऊर्जा मिलेको छ,’ ढुङ्गानाले बताउनुभयो ।