आईएमई समूहको ६६.३ मेगावाटको मध्य काली गण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रा.लि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका काली गण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य काली गण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैङ्कहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हाइड्रो सपोर्ट प्रा.लि.को तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैङ्कको तर्फबाट सहवित्तीयकरणको लिड बैङ्क नबिल बैङ्कका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।

सहवित्तीयकरणका बैङ्कहरूको अगुवाइ नविल बैक लिमिटेडले गरेको छ भने अन्य सहभागी बैकहरूमा एभरेष्ट बैक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेघा बैङ्क लिमिटेड, नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य वैक र प्रभु बैक लिमिटेड रहेका छन् ।

निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा  ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा आईएमई  समूह र सर्वसाधारणको लगानी रहने छ।

सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये  नविल बैङ्कको ३ अर्ब  १२ करोड,  एभरेष्ट बैक र नेपाल इन्भेष्टमेन्ट मेघा बैङ्क प्रत्येकले २ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैक, प्रत्येकले १ अर्ब रुपैयाँ रहने छ ।

मध्य काली गण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँद यामको विद्युत् खरिद दर ८.४० रुपैयाँ र वर्षा यामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट बाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादन बाट २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने छ । हालसम्म आयोजना निर्माण तयारीका कामहरू भइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x