नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावहरूअनुसार कानुन संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ कानुन संशोधन गरेर सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
“लगानी सम्मेलनको लागि निजी क्षेत्रतर्फबाट हामीले १२ वटा कानुनहरू संशोधन गरी लगानीको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ । लगानी सम्मेलन अगाडि नै यी कानुनहरू संशोधन गर्न सकियो भने यसले वातावरण बनाउन सहयोग गर्नेछ र लगानी ल्याउन सहयोग गर्नेछ ।”
उहाँले अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक रहँदारहँदै पनि आम उपभोक्ता र लगानीकर्ता दुवैको मनोबल बढ्न नसकिरहेको अहिलेको अवस्थामा सरकारको तर्फबाट सकारात्मक सन्देश मात्र दिँदा पनि आम लगानीकर्ता र उपभोक्तामा केही कन्फिडेन्स आउने बताउनुभयो ।
उहाँले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न पर्दैन भनेर केही व्यक्तिले दिएको अभिव्यक्तिले आम जनतामा अन्योल सिर्जना गरेको बताउनुभयो ।
“निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन । अहिलेको अवस्थामा लगानी बढ्न सम्भव छैन । यसका लागि लगानीको वातावरण बनाउन जरुरी छ । नकारात्मक कुराहरू निस्तेज गर्दै सरकारले लगानीको वातावरण निर्माण गर्न विशेष ध्यान दिन आवश्यक छ,” उहाँले भन्नुभयो ।
महासङ्घका अध्यक्ष ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीहरूको आइपिओ निष्कासन गर्न अनुमति दिन आग्रह गर्नुभएको छ ।
“आइपिओमा जाने प्रक्रियामा रहेका कम्पनीहरूको आइपिओ रोकिएको छ । यो प्रक्रियामा रहेका कम्पनीहरूको आइपिओ जारी गर्न खुल्ला गर्नुपर्छ । अहिले करिब २५/३० वटा कम्पनीहरू आइपिओमा लैजानका लागि प्रक्रियाको अन्तिम चरणमा पुगेर रोकिएको अवस्था छ । यसलाई तत्काल अगाडि बढाउन आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।
लगानी सम्मेलन अगाडि कानुन संशोधन गरी लगानीमैत्री वातावरण बनाउन आवश्यक छ, महासङ्घ अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
