जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको (आ.व.) छ महिनाको अवधिमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आ.व. को साउनदेखि पुस मसान्तमा रु एक करोड दुई लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिनुभयो ।
यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन् । गत आ.व. २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी रु तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको थियो ।
यो अघिल्लो आ.व. २०७८/०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । अघिल्लो आ.व. २०७८/७९ मा सो कार्यालयले रु दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
ट्राफिक प्रहरीद्वारा छ महिनामा रु. एक करोड दुई लाख राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
