नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबिच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ ।
त्यस सम्बन्धी समझदारी पत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव राज अधिकारीले यही माघ २ गते काठमाडौँमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशील देव सुवेदी, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रा.डा. योगेश रञ्जित र सहप्रा.डा. रमेश थापा उपस्थित हुनुहुन्थ्यो ।
समझदारी पत्रमा नेपाल बीमा प्राधिकरणले बीमाको अनुसन्धान क्षेत्र पहिचान गर्ने, प्राधिकरण र केन्द्रीय अर्थशास्त्र विभागले आपसी साझेदारीमा अनुसन्धानको कार्य अगाडि बढाउने र अनुसन्धानका लागि आवश्यक वित्तीय सहयोग प्राधिकरणले उपलब्ध गराउने उल्लेख छ ।
देशको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान, बीमा क्षेत्रको विकास, बीमा समावेशिता, बीमा व्यवसाय, सेवाको गुणस्तर, सञ्चालन खर्च, वित्तीय प्रणाली, वित्तीय साक्षरता, बीमा क्षेत्रका चुनौती, बीमा कम्पनीको नियमन तथा सुपरिवेक्षण, पुनर्बीमा र जोखिम बहन नीति लगायतका क्षेत्रमा अनुसन्धान गरिने समझदारी पत्रका उल्लेख गरिएको छ ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले समझदारीबाट देशको बीमा क्षेत्रको गहिरो अध्ययन गर्न तथा प्राधिकरणको अनुसन्धान टोलीलाई सबल बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष सिलवालले बीमा सम्बन्धी अनुसन्धानका लागि आगामी आर्थिक वर्षमा थप रकमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव राज अधिकारीले समझदारी अनुरूप बीमा सम्बन्धी अनुसन्धान कार्य तत्कालै अगाडि बढाउने बताउनुभयो ।
समझदारी पत्रमा हस्ताक्षर भएको मितिले चार वर्षसम्म समझदारी कायम रहनेछ ।
नेपाल बीमा प्राधिकरण र त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभाग बिच समझदारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
