रुकुम पश्चिममा एक वर्षको समयमा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछा मासु बिक्री भएको छ । गत आ.व २०७९/८० मा जिल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजार रुपैयाँको माछा मासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मासु ६७ करोड १४ लाख र माछा दुई करोड पाँच लाख रुपैयाँको बिक्री भएको छ ।
माछा मासु उत्पादन र प्रयोगका हिसाबले जिल्ला आत्मनिर्भर बन्दै गएको निमित्त प्रमुख शर्माले बताउनुभयो । “तीन नगरपालिका तीन गाउँपालिका रहेको रुकुम पश्चिममा माछा मासुमा पछिल्लो समय आत्मनिर्भर बनेको छ । स्थानीय उत्पादनले नै जिल्लामा माछा मासुको आवश्यकता पूरा भई जिल्ला बाहिरसमेत खसी, बोका बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो ।
जिल्लामा गत आ.व २०७९/८० मा आठ सय ३९ दशमलव २६ मेट्रिक टन अर्थात् आठ लाख नौ हजार दुई सय २० केजी मासु उत्पादन भएर बिक्री भएको छ भने माछा दुई सय ३१ मेट्रिक टन अर्थात् दुई लाख ३१ हजार केजी उत्पादन भएको छ ।
जिल्लामा मासु पर्याप्त भएपछि खसी, बोका चितवन काठमाडौँलगायतका विभिन्न बजारमा पठाउने गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकामा व्यावसायिक रूपमा बाख्रा पालन गरिएकाले धेरै मामु उत्पादन हुने गरेको निमित्त प्रमुख शर्माको भनाइ छ । माछाका लागि जिल्लामा विशेष गरी स्र्यापू ताल, भेरी नदी, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा उत्पादन हुने गरेको छ ।
स्थानीय उत्पादनले अण्डामा भने जिल्ला अपर्याप्त रहेको उहाँको भनाइ छ । व्यावसायिक रूपमा अण्डाका लागि कुखुरा पालन नगरिएकाले जिल्लामा अण्डा पोखरा, चितवन दाङबाट ल्याउनुपर्ने बाध्यता रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
रुकुम पश्चिमबाट ६९ करोड बढीको माछा मासु बिक्री
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
