नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैर आवासीय नेपाली सङ्घलाई आग्रह गर्नुभएको छ ।
नेपालमा लगानीको सम्भावना र गैर आवासीय नेपाली सङ्घको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बुधवार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य उद्योग लगायत धेरै क्षेत्रमा लगानी विस्तारको प्रचुर सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी जुटाउन तथा प्रविधि भित्राउन गैर आवासीय नेपाली सङ्घले मुलुक बाहिरबाट विशेष पहल गर्न सक्ने बताउनुभयो ।
आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले गैर आवासीय नेपालीहरूसँगको सहकार्यमा आइएमई ग्रुपले जलविद्युत् पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताउँदै नेपालमा धेरै र नयाँ सम्भावनाहरू रहेको र तिनीहरूमा लगानी र प्रविधि भित्राउन सकियो भने त्यसबाट आफ्नो मातृभूमिलाई योगदान गर्नुका साथै यथोचित फाइदा समेत लिन सकिने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र गैर आवासीय नेपाली सङ्घ बिच सुमधुर सम्बन्ध रहेको बताउँदै महासङ्घले गैर आवासीय नेपालीलाई नेपालमा उपयुक्त साझेदार छनौटको लागि समेत सहयोग गर्न सक्ने बताउनुभयो ।
उहाँले पर्यटन पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, केबलकार, रिजोर्ट तथा थिम पार्कहरूमा लगानी प्रवर्द्धन सँगसँगै प्रत्येक लगानीकर्तालाई नाफाको हिस्सेदार बनाउन सकिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो मातृभूमिमा लगानी गरी रोजगारी सृजना गर्ने तथा उचित मुनाफा कमाउने अवसरहरू छोप्न गैर आवासीय नेपाली सङ्घका साथीहरू तयार हुनुहुन्छ भन्ने विश्वास लिएको बताउनुभयो ।
उहाँले उद्यमशीलता मार्फत नेपाललाई समृद्ध बनाउने यात्रामा गैर आवासीय नेपाली सङ्घ र महासङ्घ सँगसँगै अघि बढ्न र नेपालको समृद्धि र समुन्नतिसँग जोडिएको विश्वभर रहेका नेपालीहरूको सम्मान र सपना साकार पार्न सबैले पहल गर्नुपर्ने बताउनुभयो।
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जापानले आयोजना गरेको उक्त कार्यक्रममा १०० जनाभन्दा बढी गैर आवासीय नेपालीहरूको उपस्थिति रहेको थियो ।
नेपालमा लगानी भित्र्याउन पहल लिन गैर आवासीय नेपाली सङ्घलाई अध्यक्ष ढकालको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
