नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले सांसदका ठुला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भई निजी क्षेत्र विस्तार हुने अपेक्षा गर्नुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको वार्षिक साधारण सभालाई प्रमुख अतिथिको हैसियतले शनिवार सम्बोधन गर्नुहुँदै अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठुलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताउनुभएको हो ।
मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताउनुभयो ।
केन्द्रीय सँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ । यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाई थियो ।
कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरू मध्ये छैठौ स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताउनुभयो । जलस्रोत पर्यटन मात्रै नभई यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरू विकासको सम्भाहक हुने उहाँको भनाइ थियो ।
जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरी महासङ्घले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताउनुभयो । कुनै समस्या भए समाधानका लागि महासङ्घले पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कैलाली उद्योग वाणिज्य सङ्घको पचासौँ वार्षिक साधारण सभाको अध्यक्ष ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा सङ्घका अध्यक्ष पुष्प कुँवरले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि विस्तारमा सङ्घले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउनुभयो । साथै सुदूरपश्चिमका उत्पादनको बजारीकरण, वित्तीय पहुँच लगायतका क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको पनि उहाँको भनाइ थियो ।
ठुला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा: अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
