कैलालीको टीकापुर स्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो ।
टीकापुर गौशालाका सचिव द्वारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आउनुभएको छ । तालिमपछि धुपबत्ती र दियो बनाउन धमाधम भइरहेको बताइएको छ । पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी रहेको सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । “गाईको गोबर प्रयोग गरी बनाइएको धूपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो “यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ । यो धुपबत्ती बजारमा पाइने केमिकल मिसावट धूपभन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।”
गौशालाले सुरुमा गाईको गोबरबाट ५५ घरमा ग्यास वितरण, गाईको गोबर मल बिक्री सुरु गरेको छ । दीपावलीलाई लक्षित गरेर धुपबत्ती र विभिन्न प्रकारका दियो बनाउन थालिएको छ । गौशालाले यससँगै नम्बर प्लेट, शुभ लाभका चित्र, भगवान्का मूर्ति, प्रमाणपत्रलगायतका सामग्री निर्माण गर्ने योजना रहेको गौशालाका सचिव जोशीले बताउनुभयो । “गाईको गोबरबाट विभिन्न सामग्री बनाउन सकिने रहेछ”, उहाँले भन्नुभयो, “यी विभिन्न सामग्री निर्माणका लागि मेसिन खरिद गर्ने तयारी गरेका छौँ । उच्च रक्तचापका बिरामीका लागि चाहिने सामग्री पनि बनाउने तयारी छ ।”
गौशालाले श्रीमद्भागवत महायज्ञ गर्ने, कथा वाचकले गौशालामा उत्पादन भएका सामग्रीको बजारीकरणमा सघाउने सल्लाह भइरहेको उहाँको भनाइ छ ।
सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले अहिले सात सय ३० गाई संरक्षण गरिरहेको छ । यसरी विभिन्न सामग्रीसमेत उत्पादन थालेपछि केही युवाले रोजगारी पाउने बताइएको छ । केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिनादेखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफैँले खर्च बेहोर्ने गरेको छ ।
गाईको गोबरबाट धूपबत्ती र दियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
