पाँचथर पावर कम्पनी लिमिटेडले यही पौष १८ गते (आज) ७ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा हाेटल इम्पेरियल काठमाडौँ, बत्तीसपुतलीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ, त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने रकम रु. ६ करोड ७३ लाख ७५ हजार नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने सो कम्पनीले जनाएको छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष ०७ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पौष ०६ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।