लगानीको विश्वस्त र सुरक्षित प्रतिफल दिने वित्तिय वर्गका संस्थाहरू,जसले २५% अधिक लाभांश दिंदै छन्

Click here to join Gyanmandu.com's Viber Community


लगानीको उचित प्रतिफल प्राप्त गर्न र घट्दो बजारको प्रभाव पनि कम गर्न हेतु लगानीकर्ताहरू उत्कृष्ट लाभांश वितरण गर्ने कम्पनीहरूको पर्खाइमा हुने गरेको भेटिन्छ। कुनै पनि कम्पनीमा लगानी गरे पश्चात् लगानीकर्ताले लाभको अपेक्षा गरेका हुन्छन् । यद्यपि पुँजीगत लाभ होस् वा उत्कृष्ट प्रतिफलको आशामा दीर्घकालीन लगानीको अवसर खोज्ने लगानीकर्ता, दुवैको रोजाइमा सर्वाधिक लाभांश वितरण गर्ने कम्पनीहरूको एक श्रेणी हुने गर्दछ। लाभांश वितरणको यस सिजनमा कुन वित्तीय संस्थाहरूले सर्वाधिक लाभांश घोषणा गरेको छ भन्ने साझा सवाल आम लगानीकर्ताको मस्तिष्कमा उब्जिने एक प्रमुख प्रश्न हो भन्दा फरक पर्दैन।

हालसम्म नेपालको धितोपत्र बजारमा सूचिकृत कुल २६ वाणिज्य बैङ्क मध्ये २३ वटाले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिसकेका छन्। त्यस्तै, सूचिकृत १६ विकास बैङ्क मध्ये ७ वटा, सूचिकृत १५ फाइनान्सहरू मध्ये ३ वटाले र वित्तीय संस्थाहरू मध्ये सर्वाधिक सङ्ख्या भएका सूचिकृत ५० लघुवित्तहरू मध्ये ३७ वटाले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिसकेका छन्। लाभांश प्रस्ताव गरिसकेका धेरै संस्थाहरूले वार्षिक साधारण सभा र उक्त कार्यका निम्ति शेयर धनी दर्ता किताब बन्द पनि गरिसकेका छन्।

लगानीको ज्यादै बढी सुरक्षा र आकर्षक मुनाफा भएका उल्लेखित वित्तीय संस्थाहरू मध्ये गत आर्थिक वर्षको प्रतिफलबाट सर्वाधिक लाभांश वितरण गर्ने संस्थाहरूका बारेमा हामीले यहाँ चर्चा गर्नेछौँ। यहाँ हामीले केन्द्रीय बैङ्कबाट इजाजत प्राप्त क, ख, ग र घ वर्गका नेपाल धितोपत्र बजारमा सूचिकृत १०७ संस्थाहरू मध्ये गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २५ प्रतिशत र सोभन्दा अधिक लाभांश घोषणा गरेका २२ यस्ता वित्तीय संस्थाहरूका बारेमा चर्चा गर्नेछौँ।



तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सर्वाधिक लाभांश वितरणको घोषणा गर्ने वित्तीय संस्थाहरूमा अधिकांश लघुवित्त संस्थाहरू रहेको तथ्याङ्कले देखाएको छ। आफ्ना लगानीकर्ताहरूलाई आकर्षक मुनाफा दिने २० यस्ता कम्पनी लघुवित्तको वर्गमा पर्दछन् भने २ यस्ता कम्पनी वाणिज्य बैङ्कको श्रेणीका रहेका छन्।

समीक्षा अवधिमा सर्वाधिक लाभांश वितरणको प्रस्ताव गरेको वित्तीय संस्था महिला लघुवित्त भएको छ। केही समय अघि मात्र प्राथमिक शेयर निष्कासन गरी नेप्सेमा सूचिकृत यस लघुवित्तले आफ्ना शेयर धनीहरूमा ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। त्यस्तै, गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सर्वाधिक लाभांश वितरणको प्रस्ताव अघि सारेको लघुवित्त वर्गको अर्को संस्था हो नेशनल माइक्रो फाइनान्स लघुवित्त। उक्त संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कायम चुक्ता पुँजीको ४० प्रतिशतले हुन आउने बोनस शेयर र ५ प्रतिशतले हुन आउने नगद गरी जम्मा ४५ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरू माझ वितरण गर्ने घोषणा गरेको हो ।

वाणिज्य बैङ्कहरू मध्ये लिडर मानिने नबिल बैङ्कले पनि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कायम शेयरधनिहरुलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ। बैङ्कले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कायम चुक्ता पुँजीको ३३.६ प्रतिशतले हुन आउने बोनस शेयर र ४.४ प्रतिशतले हुन आउने नगद गरी जम्मा ३८ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरू माझ वितरण गर्ने घोषणा गरेको हो । जुन सोही वर्गका संस्थाहरू मध्येको सर्वाधिक लाभांश प्रस्ताव हो।
त्यसै गरी, स्वाभिमान लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट कायम शेयरधनिहरुलाई ३२.३ प्रतिशतले हुन आउने बोनस शेयर र १.७ प्रतिशतले हुन आउने नगद गरी जम्मा ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोही अवधिका लागि सबैको लघुवित्तले ३१.०५ प्रतिशत बोनस र १.६३ नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण प्रस्ताव अघि सारेको हो। त्यस्तै, सपोर्ट लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस र १.५७८९ प्रतिशत नगद लाभांश स्वरूप वितरण गर्ने प्रस्ताव गर्दा, सोही अवधिका लागि निर्धन उत्थान लघुवित्तले २९.५ प्रतिशत बोनस र १.५५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने छिमेक लघुवित्तले २७ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश आफ्ना शेयर धनीहरू माझ वितरण गर्ने प्रस्ताव गरेको छ। उन्नति सहकार्य लघुवित्तले भने गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्ता पुँजीको जम्मा ३० प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप वितरण गर्ने जनाएको छ। उक्त संस्थाले अघिल्लो आर्थिक वर्षका लागि कुनै पनि नगद लाभांश भने प्रस्ताव गरेको छैन।


स्वावलम्बन लघुवित्त, आरएमडिसी लघुवित्त, स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्था गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश प्रस्ताव गर्ने कम्पनी मध्ये हुन्। यी चार वटै संस्थाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट समान २५/२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। सोही अवधिका लागि चार मध्ये तिन लघुवित्तले नगद लाभांश पनि प्रस्ताव गर्दा स्वरोजगार लघुवित्तले भने २५ प्रतिशत बोनस शेयर लाभांश आफ्ना शेयर धनीहरू माझ वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले गत आर्थिक वर्षका लागि कुनै प्रकारको नगद लाभांश भने प्रस्ताव गरेको छैन।

लाभांश निकै प्रभावकारी भएता पनि लगानीकर्ताले कुनै कम्पनी रोज्दा उक्त संस्थाको आधारभूत तथ्याङ्कहरूको विश्लेषण गर्ने पक्षलाई भने जहिले पनि प्राथमिकतामा राख्न जरुरी हुने गर्दछ । आधारभूत पक्षले कुनै पनि कम्पनीको वित्तीय क्षमताको प्रतिबिम्ब झल्काउने गर्दछ र आगामी दिनहरूमा पनि उक्त क्षमता वाण कम्पनीहरूबाट आकर्षक प्रतिफलको अपेक्षा गर्नु उचित या अनुचित भन्ने प्रश्नको सटिक उत्तर प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x