
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले १८० दिन अवधिको निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।
राष्ट्र बैङ्कले आजै बोलकबोल तथा निष्कासन मिति तोक्दै दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न आह्वान गरेको छ। उक्त उपकरणको ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ।
बोलकबोलमा राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले आफूले निक्षेपका रूपमा राख्न चाहेको रकम र अपेक्षित ब्याजदर उल्लेख गर्नुपर्नेछ। न्यूनतम १० करोड रुपैयाँबाट बोल गर्न सकिनेछ भने त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकमका आधारमा कुल ३५ अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था छ।
बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः बढी ब्याजदरका बोल स्वीकार गर्दै आह्वान गरिएको रकमसम्म निक्षेप सङ्कलन गरिनेछ। समान ब्याजदरमा आएका बोलको कुल रकम निष्कासन रकमभन्दा बढी भएमा उपलब्ध रकमलाई ‘प्रो–राटा’ आधारमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ।
आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैङ्कको खुला बजार कारोबार सञ्चालन समितिसँग रहनेछ।
स्वीकृत बोलबमोजिमको रकम सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको राष्ट्र बैङ्कस्थित खाताबाट कट्टा गरी निक्षेपको छुट्टै खातामा जम्मा गरिनेछ। उपकरण निष्कासन हुने दिन स्वीकृत बोलबमोजिमको रकम खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई कालोसूचीमा राखिनुका साथै आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने राष्ट्र बैङ्कले जनाएको छ।
१८० दिन अवधिको उक्त निक्षेपको साँवा तथा ब्याज आगामी फागुन ३ गते भुक्तानी गरिनेछ। भुक्तानीका दिन सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको राष्ट्र बैङ्कस्थित खातामा तोकिएको ब्याजसहित निक्षेप रकम जम्मा गरिनेछ।
राष्ट्र बैङ्कका अनुसार यसरी सङ्कलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न सकिनेछ। तर अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गर्दा भने यसलाई समावेश गर्न पाइने छैन। यद्यपि, राष्ट्र बैङ्कको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।
राष्ट्र बैङ्कले ३५ अर्बको १८० दिने निक्षेप उपकरण जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
