धितोपत्र बोर्डबाट २४ कम्पनीलाई आइपिओ निष्कासन अनुमति

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म २४ कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ।

बोर्डको अनुसार अनुमति प्राप्त कम्पनीहरूले कुल ९ करोड ११ लाख ८७ हजार कित्ताभन्दा बढी साधारण शेयर निष्कासन गर्न पाउनेछन्। यी शेयरको कुल मूल्य करिब ९ अर्ब रुपैयाँ बराबर रहेको जनाइएको छ।

अनुमति पाउने कम्पनीमध्ये जलविद्युत् क्षेत्रका कम्पनीको सङ्ख्या सबैभन्दा बढी रहेको छ। तथ्याङ्क अनुसार २४ कम्पनी मध्ये १५ वटा जलविद्युत् आयोजनासँग सम्बन्धित छन्। यस्तै, उत्पादन तथा प्रशोधन क्षेत्रका सात, विकास बैङ्क समूहको एक तथा होटेल तथा पर्यटन क्षेत्रको एक कम्पनीले आइपिओ निष्कासनको स्वीकृति पाएका छन्।

नेपालको पुँजी बजारमा जलविद्युत् कम्पनीहरूको उपस्थिति निरन्तर बढ्दो क्रममा देखिएको छ। नेपाल धितोपत्र बोर्डमा हाल १०३ वटा जलविद्युत् कम्पनी सूचीकृत रहेका छन्। साथै, अनुमति प्राप्त र स्वीकृतिको प्रतीक्षामा रहेका कम्पनीहरूको सङ्ख्या हेर्दा पनि ऊर्जा क्षेत्रकै प्रभाव बलियो देखिएको छ।

धितोपत्र बोर्डमा हाल ९८ कम्पनीले आइपिओ निष्कासन अनुमति माग्दै आवेदन दिएका छन्। आवेदन दिने कम्पनीमध्ये होटेल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्का ३२, उत्पादन तथा प्रशोधन क्षेत्रका २६ तथा लगानी कम्पनी पाँच रहेका छन्। यसबाहेक माइक्रो इन्स्योरेन्स तथा अन्य समूहका कम्पनीहरू पनि अनुमतिको प्रतीक्षामा रहेको बोर्डको तथ्याङ्कले देखाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x