चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा राष्ट्रिय स्तरका विकास बैङ्कहरूले करिब ८० करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ वटा विकास बैङ्कले संयुक्त रूपमा ७९ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्। यो रकम अघिल्लो वर्षको सोही महिनाको ७४ करोड २७ लाख रुपैयाँभन्दा ७.६० प्रतिशतले बढी हो।
समीक्षा अवधिमा ५ विकास बैङ्कको नाफा बढ्दा ३ बैङ्कको भने घटेको देखिएको छ। सर्वाधिक नाफा गर्नेमा मुक्तिनाथ विकास बैङ्क अगाडि रहँदा, वृद्धिदरको हिसाबले लुम्बिनी विकास बैङ्क शीर्ष स्थानमा पुगेको छ।
मुक्तिनाथ विकास बैङ्कले साउनमा १५ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ। यद्यपि अघिल्लो वर्षको सोही महिनाको १६ करोड ९६ लाख रुपैयाँ नाफासँग तुलना गर्दा बैङ्कको नाफा ७.२८ प्रतिशतले घटेको छ।
गरिमा विकास बैङ्क दोस्रो स्थानमा रहेको छ। बैङ्कले अघिल्लो वर्ष ९ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा यस वर्ष ४१.५९ प्रतिशतले बढेर १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
तेस्रो स्थानमा रहेको लुम्बिनी विकास बैङ्कले उल्लेखनीय प्रगति हासिल गरेको छ। अघिल्लो वर्ष साउनमा ३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको बैङ्कले यस वर्ष सो अवधिमा ११ करोड ८ लाख रुपैयाँ नाफा कमाउँदै २०५.२३ प्रतिशत वृद्धिदर हासिल गरेको हो।
अन्य बैङ्कमध्ये कामना सेवा विकास बैङ्कले ९ करोड ३७ लाख, ज्योति विकास बैङ्कले ८ करोड ७५ लाख र शाइन रेसुंगा डेभलपमेन्ट बैङ्कले ८ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कामना सेवाको नाफा ९.२१ प्रतिशत र ज्योतिको ४.५५ प्रतिशतले बढेको छ भने शाइन रेसुंगाको नाफा १३.२३ प्रतिशतले घटेको छ।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैङ्कले ६ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.१३ प्रतिशतले बढेको हो। महालक्ष्मी विकास बैङ्कले भने ठुलो गिरावट भोगेको छ। गत वर्ष साउनमा १० करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको बैङ्कले यस वर्ष केवल ६ करोड ६ लाख रुपैयाँ मात्र नाफा कमाउन सकेको छ, जसले ४३२.६९ प्रतिशतको गिरावट देखाउँछ।
साउन महिनामा राष्ट्रिय स्तरका विकास बैङ्कको नाफा करिब ८० करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
