
आन्तरिक राजस्व कार्यालय वीरगन्जले चालु आर्थिक वर्ष २०८०/ ८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवको १० महिनामा मूल्य अभिवृद्धि कर सङ्कलन उत्साहजनक देखिए पनि अन्तःशुल्क कर भने अपेक्षाकृत ढङ्गले सङ्कलन हुन सकिरहेको छैन ।
आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबै शीर्षकमा रु पाँच अर्ब ५८ करोड ९६ लाख ५० हजार राजस्व असुली गरेको बताउनुभयो । “आन्तरिक राजस्व विभागले चालु आवको रु १० महिनामा सात अर्ब ३० करोड रकम राजस्व असुली गर्ने लक्ष्य तोकिदिएको थियो तर बजार सुस्ताएसँगै लक्ष्यको ७६ दशमलव ५६ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेका छौँ,” उहाँले भन्नुभयो, “चालु आवको १० महिनाको अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट)तर्फको राजस्व सङ्कलनको वृद्धिदर गत आवको तुलनामा ३० प्रतिशतभन्दा धेरै छ तर अन्तःशुल्क कर भने यो वर्ष घट्ने देखिएको छ ।”
कार्यालयले चालुको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै अन्तःशुल्क कर (एक्साइज इन्टरनल)तर्फ भने दुई अर्ब २२ करोड ७१ लाख २२ हजार सङ्कलन गरेको छ । अब भने अन्तःशुल्क करबापतको रकम आगामी दुई महिनामा धेरै बढ्ने सम्भावना न्यून छ । कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ भने रु एक अर्ब ७२ करोड ४७ लाख रकम असुली गरेको छ । त्यस्तै, आयकर शीर्षकमा पनि एक अर्ब ५६ करोड ३६ लाख रकम असुली गरेको छ ।
चालु आवको १० महिनाका अवधिमा कार्यालयले व्याज करबापत चार करोड ७३ लाख ५६ हजार सङ्कलन ग¥यो । त्यस्तै, भाडा करबापत दुई करोड ६६ लाख नौ हजार सङ्कलन गरेको छ । त्यस्तै, स्वास्थ्यकरबापत एक लाख २४ हजार मात्रै सङ्कलन गरेको छ । कार्यालयले विशेष गरी छ वटा शीर्षकमा कर असुली गर्ने गर्छ ।
कार्यालयका अनुसार यस वर्ष हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको बताइएको छ ।
प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलनलाई बढाउनका लागि नियमित रूपमा बजार अनुगमन र कर सचेतना कार्यक्रम अघि बढाउँदै आइरहेको बताउनुभयो । आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवभरिमा रु नौ अर्ब ४१ करोड रकम सङ्कलन गर्ने लक्ष्य दिएको छ, तर कार्यालयले यस वर्ष लक्ष्यको कम्तीमा ७५ प्रतिशत हाराहारीमा राजस्व सङ्कलन हुने अनुमान गरेको छ । विभागले गत आवमा कार्यालयलाई १० अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने सात अर्ब १४ करोड मात्रै सङ्कलन गरेको थियो ।
आयकर, भाडाको कर, व्याज कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर र स्वास्थ्य कर असुली गर्ने गर्छ । कार्यालयमा हालसम्म एक लाख ४० हजार आठ सय ६३ करदाता दर्ता भएका छन् । त्यसै गरी, मूल्य अभिवृद्धि करमा भने १० हजार छ सय २५ दर्ता भएका छन् । त्यस्तै गरी, व्यक्तिगत आयकरमा भने ८६ हजार एक सय ८० र आयकरमा भने ४१ हजार दुई सय २६ जना दर्ता भएका छन् ।
 
आन्तरिक राजस्व कार्यालय वीरगन्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            