पर्वतमा पहिलो पटक सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको छ । घर वरिपरि तथा करेसाबारीमा प्राकृतिक कारणले उम्रिएका फूलका बोटबाट उत्पादित फूलले दशैं, तिहार तथा विभिन्न मेला महोत्सवमा माला तथा फूलको प्रयोग गर्दै आए पनि जिल्लामै पहिलो पटक दक्षिण पर्वतको विहादी गाउँपालिका–६, शालिग्रामस्थित हनुमान डाँडाका एक युवाले व्यावसायिकीकरण फूल खेती सुरु गर्नुभएको हो । स्थानीय मेघनाथ भट्टराईले चालु आर्थिक वर्षदेखि परीक्षणको रूपमा गरिएको फूल खेती सफल भएको छ ।
उहाँले भट्टराई पशुपक्षी तथा कृषि फार्ममार्फत व्यक्तिगत लगानीमा झन्डै दुई रोपनी जमिनमा सयपत्री फूल लगाउनुभएको छ । अहिले परीक्षणको रूपमा लगाइएको फूलले बजार राम्रो पाएमा व्यवसाय विस्तार गर्दै जाने योजनासमेत बनाउनुभएको छ । विभिन्न प्रकृतिका सयपत्री फूल बिक्रीबाट यस वर्ष न्यूनतम रु दुई लाखभन्दा बढी आम्दानी हुने उहाँको अपेक्षा छ । तिहारको बेला फूल बिक्रीका लागि स्थानीय सेती वेणी बजार, हुवास, स्याङ्जा, वालिङलगायत बजारमा पठाउने तयारी गरेकोसमेत भट्टराईले बताउनुभयो ।
जिल्लाभर फूलको खेती गर्ने र बिक्री वितरण गरी आम्दानी गर्ने प्रचलन नभएपछि उहाँले विभिन्न सञ्चारमाध्यममा देखेको भरमा उक्त खेती गर्न सुरु गर्नुभएको हो । सुरुवातमा रु ५० हजार लगानी गरेर फूलको खेती गरिएको भट्टराईले बताउनुभयो । गत साउनमा लगाइएका सयपत्रीका बिरुवा अहिले फुलेर लटरम्म भएका छन् । नेपालीको दोस्रो ठुलो पर्व तिहारसमेत नजिकिँदै गएका बेला बारीभरी पहेँल पुर बनेको फूलले सहजै बजार पाउने भट्टराईको विश्वास छ । कोदो र मकै खेती हुने बारीमा यस वर्षदेखि फूल खेती गरिएको हो । “मकै लगाए बाँदरले सखाप पारिदिन्छ, त्यो भन्दा फूल खेती गरेमा धेरै आम्दानी गर्न सकिएला भन्ने ठानेर कोदो र मकैको सट्टा फूल खेती गरेको हुँ ।” उहाँले भन्नुभयो ।
यसअघि पर्वतका सात वटै पालिकामा यसरी व्यावसायिकीकरण फूल लगाएको नपाइएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो । उहाँले अन्य समयभन्दा तिहारको बेला बाहिरबाट लाखौँको फूल र माला आयात हुने गरेको बताउँदै जिल्लामै उत्पादन भएमा फूल आयात गरिरहनुपर्ने समेत बताउनुभयो । बाह्रमास सयपत्री उत्पादन गर्न सकेमा कुनै पनि सभा समारोहमा बाहिरबाट फूल आयात गर्न नपर्ने र व्यवसायीले समेत मनग्गे आम्दानी गर्न सकिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विहादी गाउँपालिका–६ शालिग्रामका वडाध्यक्ष मोहन बस्यालले जिल्लामै व्यावसायिक रूपमा सयपत्रीको फूलको खेती गर्ने भट्टराई पहिलो किसान भएको जिकिर गर्नुभयो ।
वडामा उद्यमशील बन्छु भन्ने हरेक नागरिकलाई आफूले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै उहाँले मौसमी तथा बेमौसमी सयपत्री फूलको व्यावसायिक खेती टिकाउन सके विदेशबाट आयातित फूल र प्लास्टिकका माला विस्थापित हुने र वातावरणीय प्रदूषण हट्ने जानकारी दिनुभयो । तिहारमा जतिसक्दो प्राकृतिक फूलबाट बनेका माला लगाएर स्थानीय फूल उद्यमीलाई प्रवर्द्धन गर्नसमेत आग्रह गर्दै वडाध्यक्ष बस्यालले यस अघि एक रोपनी क्षेत्रफलमा अदुवा, बेसार र खुर्सानी लगाउने किसानलाई प्रति व्यक्ति रु २० हजार अनुदान उपलब्ध गराएको बताउनुभयो ।
पर्वतमा सयपत्री फूलको व्यावसायिक खेती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
