पुँजीगत खर्चको तुलनामा ऋणको साँवा व्याज भुक्तानी करिब तीन गुणा बढी

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवा व्याज भुक्तानी दायित्व करिब तीन गुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले रु २५ अर्ब ७८ करोड ९० लाख बराबर पुँजीगत खर्च गरेको छ । त्यस्तै गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवा ब्याज तिर्न रु ६७ अर्ब ७० करोड ७१ लाख खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कबाट देखिन्छ । यो अवधिमा भएको कुल पुँजीगत खर्चको तुलनामा सरकारी ऋणको साँवा ब्याज तिर्न भएको खर्च करिब तीन गुणाले बढी हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको असोज मसान्तसम्मको सरकारी ऋणको विवरणअनुसार यो अवधिसम्ममा आन्तरिक ऋणको साँवा रु ४२ अर्ब ८४ करोड १७ लाख र ब्याज रु १३ अर्ब ७१ करोड ५० लाख ब्याज गरी कूल रु ५६ अर्ब ५५ लाख ६७ लाख बराबर भुक्तानी भएको छ । 

त्यस्तै, बाह्य ऋणको रु आठ अर्ब ७० करोड ३६ लाख साँवा र रु दुई अर्ब ४४ करोड ६८ लाख ब्याज गरी कूल रु ११ अर्ब १५ करोड चार लाख बराबर भुक्तानी भएको छ । त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपालले रु ९७ अर्ब ३१ करोड बराबर आन्तरिक र रु नौ अर्ब ४७ करोड ८० लाख बाह्य गरी कूल रु एक खर्ब छ अर्ब ७८ करोड ८० लाख बराबर ऋण लिएको छ । योसँगै नेपालको कूल सार्वजनिक ऋण रु २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ । गत असोज मसान्तसम्ममा नेपालले रु ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख आन्तरिक र रु ११ खर्ब ७१ अर्ब दुई करोड ३१ लाख बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।  

अर्कोतर्फ सरकारको घाटा बजेटको आँकडा पनि बढ्दै गएको छ । हालसम्म कूल तीन खर्ब तीन अर्ब ६५ करोड ३७ लाख बराबर बजेट खर्च हुँदा राजस्व सङ्कलन भने रु दुई खर्ब ४८ अर्ब २८ करोड ५० लाख बराबर देखिएको छ । अर्थात् हालसम्म सरकारको आम्दानीको तुलनामा खर्च रु ५५ अर्ब ६७ करोड बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x