नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताउँदै ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्ने बताउनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) को २१औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले अहिले कुल जडित क्षमताको दुई तिहाइ भन्दा बढी उत्पादन निजी क्षेत्रले गरिरहेको र निजी क्षेत्रको उल्लेखनीय प्रवेशले ऊर्जा क्षेत्रलाई आकर्षक बनाएको बताउनुभएको छ ।
तर, कतिपय अवस्थामा प्रसारण लाइन तथा अन्य समस्याका कारण निजी क्षेत्रद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको र नीतिगत अवरोधहरूका कारण उत्पादकले उत्पादित विद्युत् समेत विक्री गर्न नसकेको बताउँदै निजी क्षेत्रको उत्साहलाई कायम राख्न नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्ने बताउनुभयो ।
जलविद्युत् विकासको कुरा दशकौँदेखि गरिआए पनि पछिल्लो दशकमा भएको प्रगति उल्लेखनीय छ । राज्यबाट थोरै मात्र सहयोग भए पनि निजी क्षेत्र फस्टाउन सक्छ भन्ने उदाहरण जलविद्युत्, सिमेन्ट लगायत क्षेत्रमा देखिएको छ, उहाँले भन्नुभयो ।
उहाँले अबको केही वर्षमा ऊर्जा उत्पादनले तीव्रता पाउने विचारसमेत व्यक्त गर्नुभयो ।
“अहिले नै करिब ७ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणको चरणमा छ । विद्युत् खरिद सम्झौता खुकुलो हुँदा थप लगानीकर्ता आउने सम्भावना बढेको छ,” उहाँले भन्नुभयो ।
ऊर्जा निर्यात विदेशी मुद्रा आर्जनको माध्यम बन्न सकेको विषय अत्यन्त सुखद रहेको बताउँदै भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली लिने प्रतिबद्धता जनाएको जानकारी गराउनुभयो ।
हालैको विम्सटेक मिटिङ्गका क्रममा पनि नेपालको विद्युत्को बारेमा कुरा उठेको बताउँदै उहाँले नेपाललाई दक्षिण एसियामात्र नभई दक्षिण पूर्वी एसियाको समेत ब्याट्रीको रूपमा विकास गर्ने सम्भावना रहेको बताउनुभयो ।
ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्छ, अध्यक्ष ढकाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
