त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ ।
विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ । विमानस्थलका अनुसार गत आर्थिक वर्ष (आ.व.) २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । चालु आ.व. मा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमशः बढिरहेको उल्लेख गर्नुभयो । विमानस्थलले यात्रु सेवा शुल्कबापत, कोठा र सटर बहाल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।
विमानस्थलले आ.व. २०७७/७८ मा रु दुई अर्ब ४६ करोड राजस्व उठाएको थियो । कोभिड–१९ का कारण उक्त वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ । कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या पनि बढ्दो क्रममा छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२२ मा यो सङ्ख्या ७९ लाख ५४ हजार चार सय ९५ थियो । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । एक वर्षमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाई यात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । आन्तरिकतर्फ हवाई यात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ ।
कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाई यात्रा गरेका थिए । यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।
नेपालले हाल ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक गत माघ २३ गते नेपाल र स्वीट्जरल्याण्ड बिच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
