नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । उक्त प्रकाशित तथ्याङ्कका प्रमुख झलकहरू यस प्रकार रहेका छन् ।
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत छ ।
 - आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेकाे छ ।
 - विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३ प्रतिशत र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेकाे छ ।
 - शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा छ ।
 - कुल विदेशी विनिमय सञ्चिति रु.१२९२ अर्ब ५६ कराेड र ९ अर्ब ८२ करोड अमेरिकी डलर रहेको छ ।
 - सङ्घीय सरकारको खर्च रु.४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ८९ करोड छ ।
 - विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेकाे छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ ।
 - बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २.२ प्रतिशतले बढेकाे छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ ।
 - वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाकाे वृद्धिदर ४.१ प्रतिशत छ ।
 - मर्जर तथा एक्वीजीसनले बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या १२५ पुगेको छ भने शाखा सञ्जाल बढेर ११,६५० पुगेको छ।
 - कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।
 
        
            
    
    