ज्ञानमाण्डू।दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दै छिन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेदेखि समारोह सुरु हुनेछ । करिब ३ घण्टा चल्ने उद्घाटन कार्यक्रममा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्ग निर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
झन्डै ७ हजार मानिस सहभागी गराउने उद्देश्य रहेको उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछन् । सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको छ । प्रतियोगितामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम सम्पन्न भइसकेको छ ।
प्रतियोगिताका खेलहरू काठमाडौँ सहित पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् । जनकपुरमा कुस्ती लगायत पोखरामा ८ अन्य खेल साथै काठमाडौँमा १९ विभिन्न खेलहरू सञ्चालन हुनेछन् । १३ औ सागमा २७ खेल समावेश गर्ने भनिए पनि प्याराग्लाईडिङको सहभागी सङ्ख्या नपुगेपछि प्रतियोगिता २६ भिन्ना भिन्नै खेलमा समेटिएको हो ।
सागमा ७ देशका ३ हजार बढी खेलाडीले ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ४ सय ८१ कांस्यका लागि प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशका २ हजार बढी अफिसियल खटिने सागको प्राविधिक समितिले जनाएको छ ।
सन् १९८४ मा पहिलो पटक सागको आयोजना गरेको नेपालले, सन् १९९९ मा आठौँ संस्करणको आयोजना गर्ने मौका पनि पाएको थियो । यसै सँगै, नेपालले यो तेस्रो पटक सागको आयोजना गर्ने जिम्मेवारी पाएको हो ।