ज्ञानमाण्डू।महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका देश विदेशका साधुसन्तलाई बिदाइ सुरु गरिएको गुठी संस्थानले जनाएको छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले धुनीका लागि दाउरा र खानाको व्यवस्था गरी साधुसन्तलाई बिदाइ गर्न लागिएको पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिए ।
साधुलाई श्रीमहन्त, महन्त, लालमोरिया नागाबाबा, सामान्य जोगीलगायत वर्गमा वर्गीकरण गरी रु ९५१ देखि रु १५१ सम्म दक्षिणा दिन सुरु गरिएको छ । आज सम्भव नहुनेलाई भोलिसम्म पनि दक्षिणा दिएर बिदाइ गरिने उनले बताए ।
यसवर्ष पशुपतिमा करिब चार हजार साधुसन्त आएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । संस्थानले दक्षिणासहित बिदाइ गरेसँगै कोषका तर्फबाट पनि थप दक्षिणा दिइने उनले सुनाए ।
संस्थानले वर्गीकरण गरेका साधुसन्तलाई कोषले रु एक हजार एकदेखि रु पाँच हजार एकसम्म दक्षिणा दिने जनाइएको छ । कोषका तर्फबाट रुद्राक्ष मालाले बिदाइ गरिनेछ । संस्थानले दिने गरेको दक्षिणा कम भएको गुनासो साधुसन्तले गर्न थालेपछि कोष स्थापनापछि थप गरिएको हो ।
विसं २०६४ अघिसम्म कालमोचनघाटबाट दक्षिणा दिई साधुसन्तको बिदाइ हुँदै आएकामा त्यसयता दोहोरो नपरोस् भनी पशुपति परिसरबाटै बिदाइ गर्न थालिएको संस्थानका सूचना अधिकारी सरोज थपलियाले जानकारी दिए ।रासस