
विश्वव्यापीरूपमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै बेलहियाबाट आउने विदेशीको सङ्ख्या शून्य भएको हो । राहदानीवाहक पर्यटक नेपाल प्रवेश शून्य भएको छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार बुधवार, बिहीबार र शुक्रवार शून्य आगमन भएकामा शनिवार दुईजना मात्रै पर्यटक नेपाल भित्रिएका छन् । यसै गरी आठजना भारततर्फ गएका छन् । आज पर्यटकको आवागमन शून्य छ ।
सन् २०१८ मा उक्त नाकाबाट एक लाख ६६ हजार २३५ विदेशी नेपाल प्रवेश गरेका थिए भने सन् २०१९ मा उक्त नाकाबाट एक लाख ६१ हजार ६९१ नेपाल प्रवेश गरेका थिए ।
यता सोही नाका हुँदै स्वदेश फर्किने नेपालीको भने सङ्ख्या दिनदिनै बढ्दै गएको छ । रोजगारी तथा पढाइका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली यति बेला स्वदेश फर्किरहेको दसगजाको सहायता कक्ष ‘हेल्थ डेस्क’मा बसेका स्थानीयवासी धर्मराज गिरी बताउँछन् । उनले भने, “एक हप्तादेखि म यहीँ डेस्कमा छु । दैनिक करिब २० हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएको देखिएको छ ।”
दसगजामा सिद्धार्थनगरपालिकाको अगुवाइ, स्थानीयवासीको सहभागिता तथा सुरक्षाकर्मीको सहयोगमा नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच पनि भइरहेको छ । “शरीरको तापक्रम जाँच गरेर र स्यानिटाइजरले हात धुवाएर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ”, स्थानीय बासिन्दा रमेश थापाको भनाइ छ ।
भारतमा भारत सरकारले जनता कफ्र्यू लगाएपछि र भारतीय विभिन्न सहरमा कोरोना सङ्क्रमित देखिएको समाचार बाहिरिएपछि अधिकांश भारतीय पनि नेपाल आइरहेको बताइएको छ । भारतको गोरखपुर, बनारस, लखनऊ, दिल्ली, पञ्जाब, बम्बई, बैङ्गलोर, चेन्नईलगायत क्षेत्रबाट बेलहिया नाका हुँदै स्वदेश फर्किनेहरु नेपाल प्रवेश गरेका हुन् । सरकारले नेपाल–भारत बस सेवा बन्द गरेको भए पनि र भारतमा सार्वजनिक यातयात बन्द भए पनि निजी सवारीसाधन बुक गरेर आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।रासस