ज्ञानमाण्डू। आर्थिक क्रियाकलाप चलायमान भएता पनि बढ्दो वस्तु व्यापार घाटा, घट्दो विप्रेषण आप्रवाह र विदेशी मुद्रा संचितिले पछिल्लो समय मुलुकको अर्थतन्त्र झन् बिग्रदैं गएको देखिएको छ। कात्तिक मसान्तको तुलनामा ४४ अर्ब ६३ करोड रुपैयाँले वृद्धि भएको शोधनान्तर घाटा चालु आर्थिक वर्षको मंसिर मसान्तमा झन्डै २ खर्ब रुपैयाँले नकारात्मक देखिएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को मंसिर अन्त्यसम्मको अवधिमा शोधनान्तर स्थिति रु.१ खर्ब ९५ अर्ब रुपैयाँले घाटामा रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् श्रावणमा मात्रै मुलुकबाट बाहिरिने र भित्रिने रकम बिचको अन्तर (शोधनान्तर स्थिति) ३८ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको थियो । त्यस्तै दोस्रो महिना भाद्रमा आइपुग्दा ८३ अर्ब ४० करोड रुपैयाँ नोक्सानीमा रहेको साे घाटा असोज अन्त्यसम्मको अवधिमा ७६ अर्ब १३ करोड रुपैयाँ पुगेको थियाे भने कात्तिक अन्त्यसम्मको अवधिमा दाेब्बर हुँदै १५० अर्ब ३७ करोड रुपैयाँमा कायम भएकाे थियो र पछिल्लो एक महिनामा शोधनान्तर घाटा करिब २ खर्ब रूपैयाँ रहेको राष्ट्र बैङ्कद्वारा प्रकाशित तथ्याङ्कले देखाएको छ।
चालु आर्थिक वर्ष २०७८/७९ को मंसिर महिनाको अन्त्यसम्ममा मुलुकको शोधनान्तर स्थिति १९५ अर्ब रूपैयाँले नकारात्मक रहेको केन्द्रीय बैङ्कले प्रकाशन गरेको तथ्याङ्कले जनाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८३.१४ प्रतिशतको गिरावट हो। गत आ.व.को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड रूपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो आ.व.को सोही अवधिमा ८९ करोड ६५ लाख रूपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोड रूपैयाँले घाटामा रहेको तथ्याङ्कले जनाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८२.९३ प्रतिशतको गिरावट हो।
समीक्षा अवधिमा चालु खाता ३०० अर्ब ६९ करोड रूपैयाँले घाटामा रहेको छ । गत आ.व.को सोही अवधिमा चालु खाता २३ अर्ब रूपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आ.व.को सोही अवधिमा १९ करोड ६६ लाख रूपैयाँले घाटामा रहेको चालु खाता चालु आ.व.को मंसिर महिनाको अन्त्यसम्म आइपुग्दा २ अर्ब ५२ करोड रूपैयाँले घाटामा रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।
चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई ४ अर्ब ६४ करोड रूपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७ प्रतिशतले वृद्धि भई ७ अर्ब ७ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।
स्रोत: नेपाल राष्ट्र बैङ्क