नेपालको बिमा क्षेत्रमा पहिलो पटक म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ सार्वजनिक निष्कासनमा आएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा ल्याइएको सो योजना आज देखि खुला भएको छ। योजनाको व्यवस्थापन जिम्मेवारी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले लिएको छ।
कुल १० करोड इकाई रहेको यस योजनामा प्रति इकाई १० रुपैयाँ अङ्कित दरमा १ अर्ब रुपैयाँ बराबरको फन्ड निष्कासन गरिनेछ। जसमध्ये १५ प्रतिशत हिस्सा संस्थागत लगानीकर्तालाई छुट्टाइएको छ। यसअनुसार, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई रिलायबल नेपाल लाइफले प्राप्त गर्नेछ भने १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापकलाई बाँडफाँट हुनेछ। बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला हुनेछ।
न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाई सम्म आवेदन दिन सकिनेछ। आवेदन निष्कासन वैशाख ७ गते बैङ्किङ समयसम्म खुला रहनेछ, तर सबै इकाई बिक्री नभए वैशाख १७ गतेसम्म म्याद लम्ब्याइनेछ।
लगानीकर्ताले सी–आस्बा सेवा उपलब्ध बैङ्क तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू वा मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
बन्दमुखी प्रकारमा ल्याइएको यो योजना १० वर्ष अवधिको हुनेछ। इकाईहरू बाँडफाँटपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार गर्न सकिनेछ। योजना अन्तर्गत कमाइ भएको मुनाफाबाट लाभांश वितरण गरिनेछ, र बाँकी मुनाफा पुनः लगानीमा प्रयोग गर्न सकिने प्रावधान छ।
योजना व्यवस्थापकको अनुमान अनुसार, पहिलो वर्षमा लगानीकर्ताले ८.३२ प्रतिशत प्रतिफल पाउनेछन्। दोस्रो वर्षमा १३.४५ प्रतिशत पुग्ने र त्यसपछिका वर्षहरूमा क्रमशः १० प्रतिशतभन्दा माथिको प्रतिफल सुनिश्चित हुने अनुमान गरिएको छ। अन्तिम वर्षमा भने प्रतिफल १९.२८ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ। समग्रमा, १० वर्षको अवधिमा औसत वार्षिक प्रतिफल करिब १७ प्रतिशत हुने अपेक्षा गरिएको छ।
रिलायबल समृद्धि योजना’ सार्वजनिक निष्कासनमा, बीमा क्षेत्रकै पहिलो म्युचुअल फन्डको सुरुआत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
