नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ ।
नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उहाँलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।
इन्डोनेसियाको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
इन्डोनेसियाली परराष्ट्र मन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौँमा मङ्गलवार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गर्नुभएको हो ।
यो सम्मानले नेपाल र इन्डोनेसियाबिच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबिचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ ।
समारोहमा बोल्दै राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कूटनैतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताउनुभयो ।
ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताउनुभयो ।
नेपाल र इन्डोनेसियाबिच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरूलाई भिसा फ्री सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले ती सम्झौताले दुई राष्ट्रबिचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबिच हुने सरकारी भ्रमणहरूलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले इन्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकहरूको सङ्ख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको प्रसङ्ग उल्लेख गर्दै कोरोना महामारी अघि इन्डोनेसिया जाने नेपालीहरूलाई अन अराइभल भिसा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले यसलाई पुनः सुचारु गर्न इन्डोनेसिया सरकारसँग आग्रह गर्नुभयो ।
यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्धार तथा राहत प्रयासमा गरेको योगदानको कदर स्वरूप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो ।
ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुनुहुन्छ ।
कार्यक्रममा विभिन्न देशका राजदूतहरू, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
