पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत विकसित मुलुकमा प्राप्त भन्सार रहित पहुँच एवं ऊर्जा खरिद बिक्री सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनुभएको छ ।
अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गर्नुभएको हो । उहाँले नेपालमा उत्पादन गरी यहाँको बजार सङ्गै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावना तर्पm लगानीकर्ताको ध्यानाकर्षण गराउनुभयो ।
यसै गरी भारतसँग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बङ्गलादेश सँगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरूलाई दिनुभयो ।
नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरूलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गर्नुभयो । संसारको सबैभन्दा बढी जनसङ्ख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिल स्टेसन विकास गर्न सकिने सम्भावना उहाँले लगानीकर्ताहरूलाई देखाउनुभयो ।
लगानी सहजीकरणका लागि महासङ्घले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पार्नुभयो । महासङ्घले एफडिआइ हेल्पडेस्क मार्फत सहजीकरण गरिरहेको छ ।
नेपालमा पर्याप्त विदेशी मुद्राको सञ्चिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्यून हुँदै गएको बताउनुभयो । साथै सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उहाँले जानकारी गराउनुभयो । अध्यक्ष ढकाल विश्व बैङ्कको वार्षिक बैठकमा सहभागी हुने क्रममा वासिंगटनमा हुनुहुन्छ । यसअघि उहाँले अन्तर्राष्ट्रिय वित्त निगमका उच्च अधिकारीहरू सँग पनि भेटघाट गर्नुभएको छ ।
अध्यक्ष ढकालद्वारा नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह लगानी सहजीकरणमा महासङ्घले सघाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
