उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताउनुभएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मङ्गलवार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) कार्यसमितिसँगको अन्तर्क्रियाका क्रममा अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्रको मनोबल टुटेको अवस्थामा रहेकाले त्यसलाई उकास्नु र अर्थतन्त्रलाई गतिशील बनाउनु सरकारको मूल ध्येय रहेको उहाँले स्पष्ट पार्नुभयो ।
‘अहिले माग घटेको अवस्था छ, माग नबढ्दा निजी क्षेत्रले उत्पादन बढाउन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘विगतमा अनुकूल अवस्थामा उद्योगी व्यवसायीले लगानी बढाए, उनीहरूको एक खालको प्रक्षेपण थियो, नाफा कमाउँछु, कर तिर्छु भनेर अगाडि बढे तर लगातार माग घट्दा साँवा ब्याजसमेत तिर्न नसक्ने जोखिम भयो ।’
व्यापार व्यवसाय खस्किएर लामो समयदेखि समस्यामा परेका उद्योगी व्यवसायीको मनोबल उकास्ने गरी सरकार आफ्ना गतिविधि अघि बढाउने मन्त्री पौडेलले बताउनुभयो। उहाँले लघुवित्त र सहकारीमा गम्भीर समस्या देखिएकाले त्यसलाई निराकरण र व्यवस्थापन पनि जरुरी रहेको उहाँले औँल्याउनु भयो ।
फरक प्रसङ्गमा अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैङ्क स्वायत्त निकाय भएकाले सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो । ‘सरकारका नीति र वित्त नीतिको स्पिरिटअनुसार मौद्रिक नीति ल्याउनेमा केन्द्रीय बैङ्क सदैव सचेत रहन्छ भन्नेमा हामी स्पष्ट छौँ,’ उहाँले भन्नुभयो , ‘सरकारको लक्ष्यअनुसार नै मौद्रिक नीति आउने भएकाले हस्तक्षेप गर्नै पर्दैन ।’
अहिले अर्थतन्त्रका केही सूचक सकारात्मक रहेको र केही नकारात्मक रहेको उहाँले बताउनुभयो । ‘नकारात्मक सूचकलाई सकारात्मक बनाउन र उत्पादन तथा उत्पादकत्व बढाउन बैङ्किङ क्षेत्रमा रहेको अधिक तरलताको उच्च उपयोग गर्ने सरकारको तयारी छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।
अहिले राजस्व परिचालन पनि चुनौतीपूर्ण देखिएको उहाँको भनाइ छ । ‘लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेको छैन,’ उहाँले भन्नुभयो , ‘राजस्व भनेको उत्पादन, उत्पादकत्व र निजी क्षेत्रको मनोबलसँग जोडिएको कुरा हो, सरकारले गर्नुपर्ने धेरै काम छन्, हामी सचेततापूर्वक अघि बढ्छौँ ।’
सरकारको लक्ष्यअनुसार नै मौद्रिक नीति आउँछ, हस्तक्षेप गर्नै पर्दैन : अर्थमन्त्री पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
