नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमा मन्तव्य राख्दै उहाँले भन्नुभयो, “व्यापारिक सुविधालाई प्रोत्साहन मात्र होइन व्यापारका अवसर पनि बढाउन मद्दत हुनेछ । नेपालले विद्युत् निर्यात पनि गरिरहेको छ जसबाट दुई देशका बिचका सम्बन्धमा नयाँ आयाम पनि थपिएको छ ।”
नेपालको विकासका लागि आगामी दिनमा भारतीय सहयोग रहिरहने प्रतिबद्धता दोहोर्याउँदै राजदूत श्रीवास्तवले भन्नुभयो, “हामीले एकीकृत चेकपोस्टको निर्माण गरिरहेका छौँ । केही बनिसकेका छन् केही बन्ने क्रममा छन् । त्यसै गरी अन्तर देशीय विद्युतीय भुक्तानीका लागि काम भइरहेको छ । ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता पनि भएको छ । हामी आपसी सहकार्यमा विभिन्न क्षेत्रमा काम गरी नै रहेका छौँ ।”
सो अवसरमा एसियाली विकास बैङ्क(एडिबी)का मध्य–पश्चिम र दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष यिङमाङ याङले नेपालको विभिन्न क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।
उहाँले एडिबीले लगानीका लागि विभिन्न अवसर खोजिरहेको जानकारी गराउँदै भन्नुभयो, “नेपाल प्राकृतिक स्रोत, कृषि, हरित ऊर्जा, पर्यटन, व्यापार र लगानीमा सम्भावना भएको देश हो । हामीले सहकार्य गरेर लगानी गर्ने अवसर खोज्दै छौँ । निजी क्षेत्रलाई सहजीकरण गर्न सरोकारवालासँग काम गरिरहेका छौँ । सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउँछौँ ।”
नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ: राजदूत श्रीवास्तव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
