नेपाल र कतार बिच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसमूह’ गठन गर्ने समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज भएको एक्ला एक्लै र द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा सो समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा रूपक सापकोटाले राससलाई जानकारी दिनुभयो ।
“लगानी र सहकार्यका क्षेत्रलाई बिस्तार गर्ने विषयमा छलफल गर्नका लागि दुई देशका तर्फबाट बिचमा ‘टिम’ निर्माण गरेर अगाडि बढ्ने समझदारी बनेको छ”, उहाँले भन्नुभयो ।
भेटमा कतार र नेपाल सम्बन्ध एवं सहकार्यका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उहाँहरूबिच सौहार्द, आत्मीय र हार्दिकताका साथ वार्ता भएको थियो । सो अवसरमा नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने सम्बन्धमा व्यापक छलफल भएको परराष्ट्र सल्लाहकार सापकोटाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले अरब राष्ट्रबाट उच्च तहमा पहिलो पटक कतारका अमिरको नेपाल भ्रमण भएको उल्लेख गर्दै यस भ्रमणबाट दुई देशबिचका सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो । भेटवार्तामा दुवै नेताले यस भ्रमणबाट दुई देशबिचको मित्रवत् र हार्दिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्नुभएको सापकोटाले जानकारी दिनुभयो ।
“भेटवार्तामा दुवै नेताले भ्रमणका क्रममा भएका समझदारीले दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो”, डा सापकोटाले रासससँग भन्नुभयो, “प्रधानमन्त्री दाहालले सिङ्गो नेपाली समुदायमा यस भ्रमणले नयाँ आशा जगाएको छ, आगामी दिनमा कतारसँग श्रमसहित लगानी र सम्बन्धका अन्य आयाममा पनि सहकार्य गर्ने ढोका खुला गरेको भन्नुभयो ।”
भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उल्लेख गर्दै नेपालमा कतारको लगानीका लागि आग्रह गर्नुभयो । “लगानीका लागि सम्भावित क्षेत्र पहिचान गरिएका छन्, पूर्वाधार, यातायात, कृषि, जलविद्युत्, शिक्षा क्षेत्रमा दुई देशबिच सहकार्य हुनुपर्छ”, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै डा सापकोटाले भन्नुभयो ।
नेपालमा लगानीका लागि प्रधानमन्त्री दाहालले राख्नुभएको आग्रहलाई कतारका अमिर अल थानीले सकारात्मक रूपमा लिनुभएको उहाँले जानकारी दिनुभयो । कतारका अमिरले ऊर्जा, यातायात (हवाई सम्पर्क बिस्तार), कृषिलगायत क्षेत्रमा सहकार्य गर्न कतार सकारात्मक रहेको बताउनुभएको थियो । “नेपालमा सम्भाव्य लगानीका लागि कतार सकारात्मक छ, सहकार्यका क्षेत्रलाई बिस्तार गरेर जान सकिन्छ”, अमिर अल थानीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटाले भन्नुभयो ।
भेटमा प्रधानमन्त्री दाहालले नेपाल र कतार बिचको श्रम सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउन आग्रह गर्नुभएको थियो । कतारका अमिरले श्रम सहकार्यलाई थप बिस्तार गर्न सकिने उल्लेख गर्नुभयो । नेपाली श्रमिकको सीप अभिवृद्धिका लागि सघाउन तथा हवाई सम्पर्क सञ्जाल बिस्तारका लागि कतार तयार भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरका तर्फबाट उडान गर्न सकिने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले युद्ध र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि कतारले गर्दै आएको मध्यस्थता भूमिकाको प्रशंसा गर्दै इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल स्वदेश फिर्तीका लागि अमिरको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिनिधिमण्डल स्तरमा भएको सो भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत हुनुहुन्थ्यो ।
कतारका अमिर अल थानीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा कतारका विभिन्न मन्त्रालयका मन्त्री र उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।
भेटवार्तापछि नेपाल र कतार बिच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी तथा सहमति भएको थियो । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालको समुप स्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबिच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यसै गरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालय स्तरीय, कूटनीतिक शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालये जनाएको छ । सरकारी स्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गर्नुभएको छ ।
यसै गरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्सका बिचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकारतर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।
कतारका अमिर अल थानी नेपालको राजकीय भ्रमणका लागि मङ्गलवार नेपाल आउनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर अल थानीबिच सोही दिन द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटमा उहाँहरूबिच नेपाल–कतार सम्बन्धका विविध आयाममा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोका मुद्दामा सहकार्यका लागि कतारसँग आग्रह गर्नुभएको थियो । राष्ट्रपतिले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गर्नुभएको थियो ।
‘नेपाल र कतार बिच लगानी एवं सहकार्य बिस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%