नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमितिसँग विद्यमान आर्थिक समस्या समाधानको विषयमा सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको छलफलमा मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने बताउनुभयो । निजी क्षेत्रमाथि धरपकड भइरहेको प्रसङ्गमा उहाँले पहिला अनुसन्धान पूरा नगरी थुन्ने वातावरणको अन्त्य गर्न सम्बन्धित निकायसँग समन्वय गरिने बताउनुभयो ।
“गल्ती गर्नेले सजाय पाउँछ । तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न हुँदैन, राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो”, मन्त्री पुनले भन्नुभयो ।
सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना सहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनः कर्जा सुविधा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो, “त्यसका लागि सरकार र बैङ्कमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ ।” निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि उहाँले मन्त्री पुन समक्ष आग्रह गर्नुभयो ।
अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई कोभिड–१९ को समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भइसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताउनुभयो । जुनसुकै पार्टी भए पनि आर्थिक एजेन्डामा एकरूपता हुनुपर्ने माग गर्दै आएको उहाँले अर्थमन्त्री पुनलाई अवगत गराउनुभयो । अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टी र पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।
निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्छु : अर्थमन्त्री पुन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
