कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका विष्णु विकले स्थानीय विणा माविमा चार वर्ष कृषि जेटिए विषयमा शिक्षण गर्नुभयो । कृषि प्राविधिक विकले कृषि पेसा अँगाल्ने उद्देश्यले शिक्षण पेसा छोडेर अहिले व्यावसायिक फूल खेती गरिरहेका छन् ।
यस वर्षको तिहारमा उहाँले चार क्विन्टल सयपत्री फूल बिक्री भएको जानकारी दिँदै सबैतिर फूल प्रशस्त उत्पादन भएकाले बिक्रीमा गिरावट आएको बताउनुभयो । “चार वर्ष अध्यापनकै क्रममा नमुनाका रूपमा दुई कठ्ठा जग्गामा फूल खेती गरेँ”, विकले भन्नुभयो, “राम्रै मुनाफा देखेपछि शिक्षण पेसा छोडेर अहिले एक बिघामा खेती गरेको छु ।” धनगढीमा ‘सिटी फ्लावर्स एण्ड गिफ्ट सप’ सञ्चालन गरेर फूलकै कारोबार पनि थालेको उहाँले बताउनुभयो ।
फूल खेतीबाट राम्रै मुनाफा हुने गरेको बताउँदै एक जना कृषि जेटिएलाई रोजगारीसमेत दिएको विकले जानकारी दिनुभयो । “यो साल घरघरमा फूल फुलेकाले बिक्री कम भयो”, उहाँले भन्नुभयो, “सात क्विन्टल जति छ, मङ्सिरमा विवाह, बर्तहरूमा बिक्री भइहाल्छ ।”
विकले थोरै लगानीबाट पनि व्यावसायिक रूपमा फूल खेती सुरु गर्न सकिनेमा जोड दिनुभयो । “फूल बिक्रीको मौसममा मासिक रु ५०÷६० हजारभन्दा माथि मुनाफा भइहाल्छ”, उहाँले भन्नुभयो, “कञ्चनपुरमा पनि पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गरिनु राम्रो विषय हो ।”
कञ्चनपुरको कृषि ज्ञान केन्द्रमा कार्यरत कृषि प्राविधिक जनक सिंहले महेन्द्रनगरस्थित जानकी कन्या माविको जमिन भाँडामा लिएर सयपत्री फूलको खेती गरेका छन् । “गत वर्ष केन्द्रका चार जना कर्मचारी मिलेर यहाँको तिल्केनीमा दुई बिघामा फूल खेती गरेका थियौँ”, उहाँले भन्नुभयो, “उक्त ठाउँ बजारभन्दा अलि टाढा भएकाले बजार छेउमै पाँच कठ्ठा जग्गामा खेती थालेका छौँ ।” यस वर्ष तिहारमा स्थानीय फूल प्रशस्तै फुलेकाले कम बिक्री भएको उहाँको भनाइ थियो ।
“बजारमा ठेलामा फूल बिक्रीका लागि लगेँ”, सिंहले भन्नुभयो, “पाँच कठ्ठामा लगाइएको खेतीमा कृषि जेटिएअन्तर्गत प्रयोगात्मक प्रयोजनका लागि विद्यार्थी पनि सम्मिलित छन् ।” उहाँले भीमदत्त नगरपालिका, दोधारा चाँदनी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा कृषकले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको जानकारी दिनुभयो । “यहाँ चाडपर्वमा सयपत्री फूलको प्रयोग विगतमा भन्दा बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यसले फूल खेतीमा पनि कृषकको आकर्षण बढेको हो ।”
व्यावसायिक फूल खेतीमा ‘कृषि प्राविधिक’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
