तनहुँ जलविद्युत आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरेको छ ।
सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत उक्त आयोजनाले विद्यालयको सुविधा सम्पन्न भवन निर्माणमा सहयोग पुर्याएको हो । निर्माणाधीन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । आयोजनाबाट असर पर्ने क्षेत्रमा आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार क्षेत्रमा गरेको काम सकारात्मक रहेको उहाँको भनाइ थियो ।
रु ९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु गरिएको भवन विसं २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त आयोजनाले त्यस क्षेत्रमा आवश्यकताअनुसारको विकास निर्माणमा सहयोग गरेको उहाँले बताउनुभयो ।
विद्यालयको भवन जीर्ण रहेकाले नयाँ भवनको आवश्यकता खड्किएको बेला आयोजनाको सहयोगले पठनपाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त आयोजनामार्फत व्यास नगरपालिका–५ वेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन पनि निर्माण भइरहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुई तले आठ कोठा भवनको काम भइरहेको हो ।
भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच रु एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो । विद्यालय भवन १८ महिनाभित्रमा निर्माण गर्ने लक्ष्य छ ।
आयोजनाबाट पीडित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत नाला, तटबन्ध र आमा समूहको भवन निर्माणका साथै सडक बत्ती जडान, नदी नियन्त्रणलगायत काम हुँदै आएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजना निर्माणका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो । प्रबन्ध सञ्चालक श्रेष्ठले भन्नुभयो, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।”
जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
