देशभरका होटेलमा तोडफोड र आगजनी, करिब २५ अर्ब क्षति

होटेल सङ्घ नेपालले हालैको आन्दोलनका क्रममा देशभरका करिब दुई दर्जन होटेलमा तोडफोड, आगजनी र लुटपाट भएको जनाएको छ। सङ्घका अनुसार यस घटनाले स्वदेशी मात्र नभई अन्तर्राष्ट्रिय ब्रान्डका नाम चलेका होटेलहरूलाई पनि प्रभावित पारेको छ।

प्रारम्भिक विवरणअनुसार काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ, विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुर लगायतका क्षेत्रमा रहेका होटेल प्रतिष्ठानमा ठुलो क्षति पुगेको छ। विशेषतः काठमाडौँस्थित हिल्टन होटेल मात्रबाट ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। समग्रमा देशभरका होटेलमा करिब २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको सङ्घले जनाएको छ।

तोडफोड र आगजनीका कारण धेरै होटेलहरू सञ्चालन अवरुद्ध भएका छन्। मर्मत सँभार र पुनर्निर्माण नगरी सञ्चालन सम्भव नभएकोले करिब दुई हजारभन्दा बढी कर्मचारीको रोजगारी प्रत्यक्ष प्रभावित भएको सङ्घले बताएको छ। यसले चाडपर्वको समयमा रोजगारी गुम्ने अवस्थासँगै, प्रभावित होटेलहरूले बैङ्क तथा वित्तीय संस्थामा रहेका दायित्व पनि बुझाउन कठिनाइ हुने देखिएको छ।

सर्वसाधारणले लगानी गरेको पब्लिक लिमिटेड कम्पनीसहित निजी होटेल व्यवसायमा भएको यो ठुलो क्षति पीडादायी भएको सङ्घले जनाएको छ। सङ्घले शक्तिशाली अधिकार प्राप्त न्यायिक समितिबाट छानबिन गरी दोषीलाई कारबाही गर्न, क्षतिपूर्ति दिलाउन र प्रभावित होटेलहरूको मर्मत तथा पुनर्निर्माणका लागि राज्यले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x