ग्लोबल आइएमई बैङ्कले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै, साना व्यवसाय प्रवर्द्धन र जलवायु प्रतिरोधात्मक क्षमता वृद्धि गर्न परिचालन गरिने

ओपेक फण्डले ग्लोबल आइएमई बैङ्कलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ ।

सो ऋण लघु, साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरूद्वारा सञ्चालित व्यवसायहरूको क्षमता अभिवृद्धि गर्न परिचालन गरिनेछ ।

लघु, साना तथा मझौला उद्यमको सङ्ख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरूले लगानीको ठुलो अभाव झेलिरहेका छन् ।

“नेपालमा लघु, साना तथा मझौला व्यवसायहरू र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनाहरूलाई सुदृढ बनाउन ग्लोबल आइएमई बैङ्कसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ । यी क्षेत्रहरू दिगो आर्थिक वृद्धि र जलवायु परिवर्तनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्त्वपूर्ण छन् । हाम्रो यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवर्द्धन गर्नेछ,” अल्खलिफाले भन्नुभयो ।

“यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैङ्गिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्त्वपूर्ण सहयोग गर्नेछ । साथै, नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरूलाई आर्थिकरुपमा सशक्त बनाउन सहयोग गर्नेछ,” ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भन्नुभयो ।

यस महत्त्वपूर्ण सहकार्यको लागि ओपेक फण्डलाई धन्यवाद व्यक्त गर्दै उहाँले यस सहकार्यले नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण लघु, साना तथा मझौला उद्यमलाई सुदृढ गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

नेपाल जलवायु परिवर्तनका प्रभावहरूको उच्च जोखिममा छ । ओपेक फण्ड र नेपालको दीर्घकालीन साझेदारी दिगो विकासमा केन्द्रित छ । ओपेक फण्डले बैंकिङ्ग, ऊर्जा, कृषि, यातायात र शिक्षासहित विभिन्न क्षेत्रहरूमा वित्तीय सहयोगको प्रतिबद्धता गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x