नेपाल उद्योग परिसंघले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ ।
प्रस्तावित राजदूतहरू संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी सहभागी हुनुभएको अन्तरक्रिया कार्यक्रममा परिसंघले आर्थिक ‘एजेन्डा’लाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गर्नुभयो । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिएर नेपालमा भएको लगानीका अवसरहरूका बारेमा विदेशी लगानीकर्ताहरूलाई जानकारी गराउने महत्त्वपूर्ण माध्यम राजदूत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
निजी क्षेत्रले व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिरहेको भए पनि नेपाल साँच्चिकै लगानी प्रवर्द्धन गर्न खोजिरहेको छ भन्ने सन्देश दिन नेपाली राजदूतावासहरूको समन्वयनमा व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गरिनुपर्ने बताउनुभयो ।
अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । यसका लागि परिसंघ सहकार्य गर्न तयार रहेको समेत उहाँले बताउनुभयो । कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिकभन्दा आर्थिक सम्बन्ध स्थिर एवं बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उहाँले व्यवसायका माध्यमबाट देशको ‘ब्रान्डिङ’मा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
परिसंघले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुहरूको प्रवर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत्, पूर्वाधारमा विदेशी लगानी भित्र्याउने गरी काम गर्नुपर्नेमा जोड दिएको छ ।
अन्तरक्रियामा प्रस्तावित राजदूतहरूले आर्थिक सम्बन्ध विस्तार, निर्यात प्रवर्द्धनमा नै आफूहरूको ध्यान रहने भन्नुहुँदै देश केन्द्रित सुझाव दिन परिसंघलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिवहरू शरदराज आरण, डा सुरेन्द्र थापा, परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वअध्यक्षहरु हरिभक्त शर्मा, शतिशकुमार मोर, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ गभर्निङ काउन्सिल सदस्यहरू शशिकान्त अग्रवाल, योगेश्वरलाल श्रेष्ठ, परिसंघको नेपाली डायस्पोरा समन्वय समिति सभापति चन्द्र टन्डन, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो ।
आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिन प्रस्तावित राजदूतलाई परिसंघको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
