नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थामा तद्अनुरूप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्र्याकमा लैजान सकिने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश छैठौँ प्रदेश सभाको समुद्घाटन समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “अहिले अर्थतन्त्रका केही सूचकाङ्कहरू सकारात्मक देखिएका छन् । रेमिट्यान्स बढेको छ । विदेशी पर्यटकको सङ्ख्या बढेको छ । बैङ्कमा तरलता पनि बढेको छ । त्यसैले, यसलाई आधार बनाएर नयाँ नीतिगत व्यवस्था गरेर अगाडि बढ्न सकियो भने हामीले अहिलेको अर्थतन्त्रको समस्याबाट पार पाउन सकिन्छ ।
उहाँले छिमेकी मुलुकको आर्थिक अवस्थासँग तुलना गरी नेपालमा पनि कठोर नीति लिँदा अर्थतन्त्रमा समस्या आएको स्मरण गर्दै अहिलेको अवस्था व्यवसायीहरूको लागि चुनौतीपूर्ण रहेको बताउनुभयो ।
“कोरोना भाइरसपछि हाम्रो आफ्नो आन्तरिक नीतिहरूका कारणहरूले वा रशिया युक्रेन युद्धको कारणले होस्, हाम्रो अर्थतन्त्र प्रभावित हुन गएको छ । व्याज बढायो भने तरलता समस्या समाधान हुन्छ भन्ने र आयात रोक्यो भने अहिलेको सङ्कट पार लगाउन सकिन्छ भन्ने नीतिहरूका कारण अहिलेको समस्या आएको हो । ती सबै नीतिहरू निष्प्रभावित रहे । अब अर्थतन्त्रमा केही सकारात्मक सङ्केतहरू देखिएका छन् । यसलाई आधार मानेर नयाँ नीतिगत व्यवस्था गर्न सकियो भने अर्थतन्त्रलाई अहिलेको समस्याबाट पार लगाउन सकिन्छ । छिटोभन्दा छिटो यसलाई लयमा ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो ।
उहाँले अहिलेको असहज अवस्थामा सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । “अर्थतन्त्रमा समस्या छ । अहिले एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाएर समस्याको समाधान हुँदैन । नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क र बैंकिङ्ग क्षेत्र सबै मिलेर अहिलेको समस्याको समाधान खोज्नुपर्ने अवस्था छ । सबै मिलेर यो अवस्थालाई पार लगाउनुपर्नेछ,” उहाँले भन्नुभयो ।
उहाँले अहिलेसम्म निर्वाचन सकिएका सबै प्रदेशहरूमा सर्वसम्मत नेतृत्व चयन भएको उदाहरण दिँदै यस गण्डकी प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि सुझाव दिनुभयो ।
सुधारोन्मुख देखिएको अर्थतन्त्रलाई आधार मानेर तद्अनुरूपका नीतिगत व्यवस्था गरौँ, वरिष्ठ उपाध्यक्ष ढकाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%