नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन १० गते गण्डकी प्रदेशका तनहुँ जिल्लाको व्यास नगरपालिका र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तनहुँ जिल्लाको व्यास नगरपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बीमाका बारेमा राम्रो जानकारी नहुँदा बीमितहरु अन्योलमा पर्ने गरेको उल्लेख गर्नुहुँदै बीमा कम्पनीहरूले बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा स्पष्ट जानकारी दिनुपर्ने बताउनुभयो ।
प्रमुख न्यौपानेले सेवामुखी हुन र बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरूलाई आग्रह गर्नुभयो ।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी प्रस्तुति गर्नुहुँदै ठोस नीतिगत व्यवस्था गरी बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले प्रलोभनमा परेर बीमा गर्दा बीमाशुल्क बुझाउन नसक्ने अवस्था आएको, बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा राम्रोसँग जानकारी नदिने गरेको, एउटै बीमालेखको बीमाशुल्क कम्पनी अनुसार फरक फरक हुने गरेको, जीवन बीमा गर्दा स्वास्थ्य अवस्थाबारे नसोध्ने तर बीमा गरिसकेपछि भने दीर्घ रोगी रहेको भन्ने गरेको लगायतका गुनासाहरू गर्नुभएको थियो ।
नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरू, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र सञ्चारकर्मीहरू लगायत गरी करिब १०० जनाको सहभागिता रहेको थियो ।
यसै गरी, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा आयोजित बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा अतिथि, मध्यनेपाल नगरपालिकाका वडा अध्यक्ष एवम् नगर प्रवक्ता रामचन्द्र भण्डारीले बीमा कम्पनीहरूले घर घरमा गएर बीमा गरे जस्तै बीमा दाबी भुक्तानी पनि घर घरमा नै गएर गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उहाँले बीमाले विपद्का समयमा सरकारलाई आइपर्ने आर्थिक भार कम गर्न मद्दत गर्ने भएकाले एक द्वार प्रणालीमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाउन महानगरपालिका अग्रसर हुने जानकारी दिनुभयो ।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले नगरपालिकाका नीति तथा कार्यक्रममा राखेर बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गर्नुभयो ।
नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरू, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभि कर्ता, कृषक र सञ्चारकर्मीहरू लगायत गरी करिब ९० जनाको सहभागिता रहेको थियो ।
 
तनहुँको व्यास र लमजुङको मध्यनेपाल नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    