ज्ञानमाण्डू।आधा दर्जन बढी संस्थालाई गाभेको ग्लोबल आइएमई बैंक लिमिटेडले र जनता बैंक नेपाल लिमिटेडले आज मर्जरको लागि सहमती पत्रमा हस्ताक्षर गरेका छन् । 
आज आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष श्री केशब बहादुर रायमाझीले मर्जरका लागि सहमती पत्रमा हस्ताक्षर गरेकाछन्  । ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००: ८५ को सेयर स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता गरेको हो । 
मर्जरपछि बैंकको नाम  ग्लोबल आइएमई नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा श्री चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउनेछन् । सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनेछन्। त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमती भएको छ ।
दुवै बैंकको तर्फबाट ३-३ जनाको सहभागिता गराइ ग्लोबल आइएमई बैंकका सुदर्शनकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय मर्जर कमिटी समेत गठन गरेकाे छ । कमिटीको सहसंयोजकमा जनता बैंकका गौतमप्रसाद खनाल रहेका छन् भने अन्य सदस्यहरुमा जनता बैंकबाट रामप्रसाद भण्डारी र सञ्जिव न्यौपाने र ग्लोबल आइएमई बैंकबाट नुमनाथ पौडेल र सुमन पोखरेल रहेका छन् ।
मर्जरपछिकाे संस्था:
- नाम: ग्लोबल आइएमई बैंक लि.
 - चुक्तापूँजी: १७ अर्ब ११ करोड हाराहारी
 - अध्यक्ष: श्री चन्द्रप्रसाद ढकाल
 - प्रमुख कार्यकारी अधिकृत: श्री पर्शुराम कुँवर क्षेत्री
 - शाखा संख्या: २७८
 - निक्षेप: करिब १ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ (चैत मसान्तसम्मको तथ्यांकमा आधारित)
 - ऋण लगानी: एक खर्ब ७० अर्ब रुपैयाँ माथि
 
        
            
    
    
    
    
    
                                                        