ज्ञानमाण्डू।पश्चिम क्षेत्रका थारु समुदायको महत्त्वपूर्ण पर्व ‘माघी’ आउन दुई साता बाँकी छँदै उनीहरूको घर आँगन तथा गाउँ बस्तीमा उल्लासमय वातावरण छाउँदै गएको छ ।
आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सँदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिँगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका गाउँ बस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।
विधिवत् रूपमा पुस २९ गतेबाट सुरु हुने सप्ताहव्यापी यो पर्वको तयारी थारु बस्तीमा अहिलेदेखि नै सुरु भइसकेको छ । माघी पर्व तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ । यो पर्वका अवसरमा थारु समुदायले छोराछोरीको बिहे, अंशबन्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्दछन् ।
पर्वमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा पत्रकार विश्वराज पछलडंग्याले जानकारी दिए । उहाँका अनुसार, माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यस रात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन् ।
माघीको दिन (माघ १ गते) बिहान अँध्यारो छँदै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का (पैसा) लुटाउने प्रचलन रहेको छ । माघीको अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने थारु समुदायको धार्मिक विश्वास पनि रहिआएको छ । पर्वका अवसरमा थारु समुदायले आआफ्नो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्दछन् । त्यस अवसरमा बर्दिया जिल्लाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिक स्थलमा ठुलो मेला लाग्ने गर्दछ ।
थारु समुदायले माघी पर्वका अवसरमा वर्षभरिको दुःख बिसाइरहेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ सो समुदायका मुक्त कमैयाको मुहारमा अझै थुप्रै पीडा लुकेको देख्न सकिन्छ । कमैया मुक्ति घोषणाको २० वर्षको अवधिमा पनि मुक्त कमैयाको समुचित पुनः स्थापना अझै हुन नसक्दा मुक्त कमैया माघी पर्वमा स्वच्छन्द रमाउन सकेका छैनन् । उनीहरूले अझै गाँस बासको समस्या झेलिरहेका छन् । अभावमा बाच्न बाध्य मुक्तकमायाकै लागि चाडपर्व पनि उत्साहजनक हुन नसकेको उनीहरू बताउँछन् ।
सरकारले ‘कमैया मुक्ति’ घोषणा गरेर जग्गा उपलब्ध गराए पनि मुक्त कमैयाको समुचित जीवनयापन सहज हुन सकेको छैन । “जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रो लागि नल्याएपछि हामी बिचल्लीमा परेका छौँ”, बाँके कोहलपुरका मुक्त कमैया सुरज थारुको गुनासो छ । तथ्याङ्कअनुसार, कैलालीमा ४४३, बर्दियामा ८०, बाँकेमा ३८, कञ्चनपुरमा ३७ मुक्त कमैया परिवारलाई पुनः स्थापना गर्न अझै बाँकी छन् । दाङमा भने सबै ५५५ मुक्त कमैया परिवारको पुनः स्थापना भइसकेको छ । दास प्रथाको रूपमा रहेको कमैया प्रथा २०५७ साल साउन २ गते अन्त्य भएको घोषणा गरिएको थियो ।रासस