ज्ञानमाण्डू।कृषि उत्पादन बढाउनका लागि नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेको खेतमा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ पुर्याइएको छ ।
विसं २०७२ मा स्थापित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका अनुसार रौतहट र सर्लाही जिल्लामा डिप ट्युबवेल र स्यालो ट्युबवेलको निर्माण एवं जडानपश्चात् सिँचाइ सुविधा पुर्याइएको हो ।
उक्त प्रक्रियाबाट कृषि बालीमा सिँचाइ सुविधा पुगेको र उत्पादन बढेको किसानको भनाइ छ । सर्लाही जिल्लामा २०७५/०७६ मा डिप ट्युबवेल ४६ वटा तथा स्यालो ट्युबवेल आठ हजार ८० वटा जडान गरी २३ हजार ८५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइएको प्रमुख कामेश्वर यादवको भनाइ छ ।
त्यस्तै रौतहट जिल्लामा डिप ट्युबवेल ३४ तथा स्यालो ट्युबवेल सात हजार ९०५ वटा निर्माण गरी २३ हजार ४३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइएको छ । हालै रौतहटको फतुवा, विजयपुर र सर्लाहीको हरिवन नगरपालिकाका सखुवानीटोल, ढुङ्ग्रे, वसन्तपुर र हरिपुरवा नगरपालिका र सङ्ग्रामपुरमा पुरानो योजनाअन्तर्गत पम्पको निर्माण, विद्युतीकरण र वितरण प्रणालीको काम सुरु भएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख यादवले भूमिगत सिँचाइ योजनाको सर्लाही र रौतहटमा माग अत्यधिक छ तर बजेट भने न्यून छ भन्नुभयो । सर्लाही र रौतहटमा नहर र नदी रहे पनि किसानको खेतसम्म पानी पुग्ने अवस्था नरहेको हुँदा १२ महिना भूमिगत सिँचाइबाट सिञ्चित गरिने हुँदा यसको माग बढेको हो । सर्लाही सङ्ग्रामपुरका रामदेव ठाकुरले यस प्रणालीबाट किसानलाई धेरै राहत पुगेको विश्वास व्यक्त गरे । एउटा स्यालो ट्युबवेल निर्माणमा करिब रु छ लाख र डिप ट्युबवेल निर्माणमा रु १८ देखि २० लाख जमिनको अवस्था हेरेर जडान हुने गरेको कार्यालयबाट थाहा भएको छ ।
त्यस्तै भूमिगत सिँचाइ डिभिजन कार्यालय पर्साले पनि बारा र पर्सा जिल्लाका खेतीयोग्य जमिनमा स्यालो ट्युबवेल र डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुर्याउँदै आएको छ ।रासस