ज्ञानमाण्डू।महर्षि वेदव्यास जन्मभूमि तनहुँको दमौलीस्थित व्यास गुफा क्षेत्रमा सनातन धर्म संस्कृति अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गरिने भएको छ ।
विश्व हिन्दु महासङ्घको आयोजनामा आगामी चैत १ देखि ४ गतेसम्म हुने महासम्मेलनको तयारी तीव्र पारिएको छ । महासम्मेलनमा आउन हालसम्म २५ देशका प्रतिनिधिले नाम पठाएको महासङ्घका अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र अधिकारीले जानकारी दिए ।
महासम्मेलनमा भारतका २२ प्रान्त तथा काशीलगायत क्षेत्रबाट पनि उल्लेख्य रूपमा प्रतिनिधि सहभागी हुने जनाइएको छ । अमेरिका, बेलायत, जर्मन, अस्ट्रेलिया, थाइल्यान्ड, बर्मा, जापान, दक्षिण कोरिया, भारतलगायत देशका प्रतिनिधि आउने निश्चित भएको उनले सुनाए ।
आगामी चैत १ गते सांस्कृतिक झाँकीसहित शोभा यात्रा र उद्घाटन कार्यक्रम गरिनेछ । चैत २ देखि ४ गतेसम्मको महासम्मेलनका सत्रमा अन्तरधार्मिक सम्बन्ध, छुवाछूत जस्ता कुप्रथालगायत समसामयिक विषयमा कार्यपत्र प्रस्तुत गरी विज्ञबाट मन्तव्यसहित टिप्पणी गराई दमौली घोषणापत्र जारी गरिनेछ ।
अन्तर्राष्ट्रिय महासम्मेलनपछि व्यास जन्मभूमिको गरिमा थप बढ्ने विश्वास गरिएको महासङ्घले जनाएको छ । दमौलीमा महर्षि वेदव्यास विश्वविद्यालय स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले समेत व्यास गुफामा महासम्मेलन गर्न लागिएको महासङ्घका उपाध्यक्ष भरतराज पौडेलले बताए । महासम्मेलनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलगायत विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरिएको महासङ्घले जनाएको छ ।रासस