
ज्ञानमाण्डू। जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा  पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप  कैलाश स्टेसनरीले सदरमुकामबाट समयमै पाठ्यपुस्तक खरीद गरी विद्यार्थीलाई  वितरण गरेका हुन् । गाउँपालिकाले ती स्टेनसनरीलाई पाठ्यपुस्तक खरिदको  जिम्मा दिएको थियो । 
विद्यालयले विद्यार्थीको सही विवरण पठाए अनुसार किताब खरिद गरेकाले यहाँका  विद्यार्थीलाई खाली हात कक्षामा जान बाध्य नभएको सीता माध्यमिक विद्यालयका  प्रधानाध्यापक शिवप्रसाद पाण्डेले बताए । गाउँपालिकामा २७ सामुदायिक  विद्यालयका पाँच हजार ५०० भन्दा बढी विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद  गर्न विद्यालयलाई गाउँपालिकाले समयमै रकम उपलब्ध गराएको थियो । नयाँ  शैक्षिकसत्र भर्ना यही फागुन १० गते समाप्त भएको र अब पढाइ नियमित हुने  पालिकाको शिक्षा युवा तथा खेलकूद शाखाका सहसंयोजक दीपेन्द्रराज हमालले  बताए ।
सदरमुकाममा रहेको चन्दननाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले  किताब पसलबाट किताब खरिद आफैँ गर्छन् र विद्यालयले खरिद गरेको बिल पेश  गरेपछि खरिद मूल्यअनुसार नगद भुक्तानी गर्दछ । यहाँका अरु पालिकाले पनि  आफ्नो पालिकाभित्रका किताब पसल र सदरमुकाम खलङ्गामा गरेका किताब पसललाई  विद्यालयको पाठ्यपुस्तक खरिदको जिम्मा दिएकाले विद्यार्थीले यो वर्ष समयमै  पाठ्यपुस्तक पाएको पालिकाले जनाएको छ । 
जिल्ला फर्कँदै शिक्षक
जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएयता जिल्ला बाहिर गएका शिक्षक धमाधम  जिल्ला फर्किँदैछन् । वार्षिक परीक्षापछि जाडो छल्न र जिल्ला बाहिरका  शिक्षक बिदा मनाउन घर गएकाले आफ्नो कार्यस्थलमा फर्किएको कालिका  निम्नमाध्यमिक विद्यालयका शिक्षक जयबहादुर बुढाले बताए । 
सदरमुकाम क्षेत्रमा पर्ने केहीबाहेक अन्य सबै विद्यालयका शिक्षक गत मङ्सिर  अन्तिम साता जिल्ला छाडेर गएकाले शैक्षिक सत्र शुरु भएपछि विद्यालय आएको  तिला गाउँपालिका–१ को सीता मावि कक्षा ८ मा अध्यनरत छात्र हिमाल रावतले  बताउछन् । 
तिला गाउँपालिकाको सीता, सरस्वती र देउराली माविलगायतका विद्यालयका शिक्षक  विद्यालय आइपुगेको र केही शिक्षक आउन बाँकी रहेकाले विद्यालयमा नआएका  शिक्षकलाई कानूनी कारवाही गरिने गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी  दिए ।
यहाँका आठवटै पालिकामा रहेका सबै विद्यालयले फागुन १० गतेसम्म नयाँ भर्ना  समाप्त गरी नियमित पढाइ शुरु गरेका छन् । जाडो छल्न छुट्टी मनाउन घर गएका  जिल्लाका ५० प्रतिशत शिक्षक फर्किएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना  अधिकारी शिवशङ्कर चौलागाईंले बताए । विसं २०७५ को तथ्याङ्कअनुसार  जुम्लामा मावि, निमावि र प्रावि गरी १७० विद्यालयमा दरबन्दी तथा राहत कोटा  गरी ८०७ शिक्षक रहेको र त्यसमध्ये पाँच प्रतिशत शिक्षक जिल्ला नफर्किएको  सूचना अधिकारी चौलागाईंले बताए । रासस 
        
            
    
    