![](https://1.bp.blogspot.com/-skSubDS2CBY/XmcXcjNK_0I/AAAAAAAAG7k/gvhA9WqJdxUwiYH-1GMqyQbQYxW0Ue_NwCNcBGAsYHQ/s1600/Screen%2BShot%2B2020-03-10%2Bat%2B10.12.38.png)
ज्ञानमाण्डू।सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ ।
लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि सो कक्ष सोमबारदेखि सञ्चालनमा ल्याएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए । सो कक्षमा दुई स्वास्थ्यकर्मी खटाइएको भए पनि आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने उहाँले बताए ।
सोही मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाको टोलीले टीकापुर अस्पताल र खक्रौँलानाकामा स्थापना गरिएको स्वास्थ्य सहायताकक्षको अनुगमन गरेको छ । सो अस्पतालमा छुट्टै १५ आइसोलेशन वार्ड स्थापना भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा सरोकारवालाको उपस्थितिमा आइतबार बसेको बैठकले कोरोनाको सङ्क्रमण प्रदेशमा पनि देखिनसक्ने जोखिमलाई ध्यान दिँदै पहिचान, उपचार, रोकथाम र व्यवस्थापन गर्न विभिन्न ११ वटा निर्णय गरेको थियो ।रासस