ज्ञानमाण्डू।प्रभु बैङ्क लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा सङ्खुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिका अध्यक्ष श्री पाशाङ्गनुर्वु शेर्पाज्यूको प्रमुख आतिथ्यतामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैङ्किङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधि, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतका व्यक्तिहरूको कार्यक्रममा सहभागिता रहेको थियो । एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक श्री लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना भनाइहरू राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने बारेमा बताएका थिए । चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रूपमा परिचित भएको भएता पनि नगदे बालीको रूपमा अलैँची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयबासीहरु नै अग्रसर भई लागेमा आर्थिक रूपमा सम्पन्न हुन सकिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि चिचिला गाउँपालिकाका अध्यक्ष श्री पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधि र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैङ्क लि. र सेजनलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा सेजनका अध्यक्ष श्री भीम गौतम, वरिष्ठ पत्रकार श्री दिपेन्द्र बान्तवा एवं प्रभु बैङ्क लि. खाँदबारी शाखा कार्यलयका शाखा प्रमुख श्री सुमन बस्नेत लगायतले वित्तीय व्यवस्थापनबारे आ–आफ्ना भनाइहरू राखेका थिए । प्रभु बैङ्क र सेजनको संयुक्त आयोजनामा सम्पन्न यस वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयआर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गर्नुभएको बैङ्कले विश्वास लिएको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।